
काठमाडौं– आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा धरौटीमा छुटेका छन् ।शर्माले मंगलबार १ करोड रुपैयाँ धरौटी राखेर रिहा भएका हुन् । उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट धरौटी ल्याएका थिए । विशेषले शर्मासँग थुनछेक बहसपछि एक करोड धरौटी मागेको थियो ।
यसअघि शर्मा विशेष अदालतलाई अटेर गर्दै आएका थिए । कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल जेल गएपछि शर्मा मंगलबार विशेष अदालतमा हाजिर भएका थिए ।
न्यायाधिसद्धय द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले धरौटी माग्ने आदेश गरेको हो ।
आयोगका सदस्यसचिव समेत रहेका शर्मालगायत अध्यक्ष महत र सदस्य ढकलालले साढे २० अर्ब रुपैयाँ बढी कर छुट दिएर राज्यलाई अर्बौ रुपैयाँ नोक्सान पुर्याएको भन्दै अख्तियार दुरपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दर्ता गराएको थियो ।