
केपी ओली, पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष
काठमाडौं । अबको हाम्रो मुल एजेण्डा आर्थिक समृद्धि नै हो । निर्वाचनपछि गठन हुने नयाँ सरकारको पहिलो उदेश्य भनेकै समृद्धि र विकास नै हो । हामीले लामो समय राजनीतिक आन्दोलनमा बितायौं तर अब भने देश बनाउनै लाग्ने हो । हामीले यथास्थितीमा बस्ने घोषणा गर्ने अवस्था छैन् । हामी साह्रै ढिलो हिडेका थियौं अब अरु भन्दा छिटो हिडेर विकास र प्रगति हासिल गर्ने हो । हामीले विज्ञान र प्रबिधीको अधिक उपयोग गरेर अघि बढ्ने हो । अरुले बर्षाै लगाएर विकास गरे अब हामीले केहि बर्षमै उनीहरुकै जस्तो विकास गर्नुपर्नेछ ।
१९६० पछिको विकास दुनियाँमै असाधारण छ, ८० को दशकपछि झनै द्रुत गतिमा विकास भएको छ । सन २००० पछिको विकास गति झनै तिब्र भएको छ । ७० बर्षमा नभएको विकास सन २००० देखि २०१७ को अवधीमा भएको छ । हामीले अब अझै तिब्र गतिमा विकास गर्ने हो । संयुक्त राष्ट्र संघले तयार पारेको दिगो विकास लक्ष्य अनुसार हामी विकासको गतिमा अघि बढ्न चाहान्छौं । अझै त्यो भन्दा तिब्र गति कायम गरेर सन २०३० सम्ममा विकासको नयाँ चरणमा प्रवेश गर्ने हो । १९२ देशले हस्ताक्षर गरेकाले मात्रै हामीले दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेका होइनौं । साच्चै देश बनाउने भनेर हस्ताक्षर गरेका हौं ।
म प्रधानमन्त्री हुँदा पुर्वपश्चिम राजमार्ग विस्तार गर्ने योजना बनाउँदा पैसा थिएन तर अहिले अमेरिकाले मात्रै पाँच अर्ब दिने भनेको छ । पैसा धमाधम आईरहेका छन् । योजना बनेपछि पैसाको अभाव हुन्न ।
हामीले यस्ता पुर्वाधार बनाउनुपर्नेछ, जसले निजी क्षेत्र वा सरकारी लगानीलाई प्रोत्साहन गरोस, विदेशी लगानी आकर्षित गरोस, त्यसमा ध्यान दिनुपर्नेछ । आगामी २ बर्षभित्र हामीले आफ्ना लागि पुग्ने गरि विद्युत उत्पादन गरिसक्छौं । सोही अवधीमा पुर्व पश्चिम राजमार्ग विस्तार, हुलाकी राजमार्ग निर्माण, उत्तर दक्षिण सडक करिडोरको निर्माण, मध्पपहाडी राजमार्ग पनि तयार हुँदैछ । यसले आन्तरिक बजार र चिन तथा भारतको बजारमा पनि पुग्न सहज हुनेछ ।
हाम्रा गुणस्तरिय उत्पादन चीन र भारत तथा बंगलादेशको बजारमा लगेर बेच्न सकिनेछ ।
बामपन्थी गठबन्धन आयो भने लोकतन्त्र मासिन्छ । निजी क्षेत्र निरुत्साहित हुन्छ भन्ने आरोप लगाइएको छ । यो गलत कुरा हो । हामीले लडेर ल्याएको लोकतन्त्रमा हामीलाई लोकतान्त्रिक हौं भन्ने लाइसेन्स काँग्रेस वा अन्य पार्टीले दिनु पर्दैन । हाम्रो इतिहास नै लोकतन्त्र प्रतिको हाम्रो प्रतिवद्धताका लागि पर्याप्त छ ।
अब राजनीतिक आन्दोलन र हड्तालहरुको समय सकिएको छ । अब उद्योग धन्दामा पनि बन्द र हड्ताल हुने छैनन् । दोहोरो करका बारेमा पनि उद्योगी व्यवसायीले डर मान्नु पर्दैन् । तीन तहका सरकार भएपनि कर एकद्धार प्रणालीबाटै संकलन हुनेछन् । कृषिको आधुनिकीकरणले रोजगारीको ठुलो अवसर सृजना गर्न सकिन्छ । कृषिमा आधारित सहायक उद्योगहरुको स्थापना गर्न सकिन्छ । कपडा उद्योगका लागि आवश्यक कच्चा पदार्थ यहि उत्पादन गर्न सक्छौं ।
मैले लगाएको टोपी बनेको नेपालमा हो तर बन्ने धागो अन्तैको हो, कपास अन्तैको हो । यो धागो हामीले नेपालमा जोडेका मात्रै हो । यो टोपी सिलाउने सियो पनि अन्तै बनेको हो । यो टोपी उध्रियो भने टाल्ने सियो पनि हामीसँग छैन् । कपडा सिउने सियो र धागो अब नेपालमै बनाउनु पर्छ । आत्मनिर्भर बन्ने भनेको आफ्ना लागि आवश्यक पर्ने समान आफैं बनाउने भन्ने नै हो । आधारभुत आवश्यकताका बस्तु आफैंले बनाएर आत्मनिर्भर बन्ने अभियानमा जुटेका हौं ।
सिंहबाट जोगिन हरिणले सिंह भन्दा धेरै दौडनु पर्छ र हरिणलाई शिकार बनाउन सिंहले हरिण भन्दा धेरै दौडनु पर्छ । अर्थात हामीले पनि संसारका सबै मुलुक भन्दा धेरै कुदेर विकास र समृद्धिको मार्ग समाउनु पर्छ । हामीले आफ्ना श्रोत साधनको अधिकतम उपयोग, विज्ञान प्रबिधीको उपयोग गर्नु पर्छ । निर्वाचनपछि बन्ने सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्छ । मिलेर लोकतन्त्रको रक्षा गर्छ र समृद्धिको महाअभियान सुरु गर्छ ।( ओलीले व्यक्त गरेको विचारमा आधारित)