काठमाडौँ । निर्वाचन आयोगले पहिलो चरणमा भोलि मंसिर १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आइतबार बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित हुनु भई मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आग्रह गर्नुभयो ।
संविधान कार्यान्वयनकै महत्वपूर्ण कडीका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा हँुदैछ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नुहुनेछ भने आइतबार सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ । रासस