युरोपियन युनियनले निर्वाचन आयुक्तसमक्ष राख्यो जिज्ञासा- ‘कस्तो छ चुनावको तयारी ?’

<p>काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपियन सांसदका टोलीले अब हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग युरोपियन संसद्का टोली प्रमुख नीना गिलको नेतृत्वमा आएको टोलीले आज कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा भेट गरेको हो । भेटमा उनीहरूले अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी, मतदाता [&hellip;]</p>

काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपियन सांसदका टोलीले अब हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग युरोपियन संसद्का टोली प्रमुख नीना गिलको नेतृत्वमा आएको टोलीले आज कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा भेट गरेको हो ।

भेटमा उनीहरूले अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी, मतदाता शिक्षा, शान्तिसुरक्षा, मौसमको प्रतिकूलता र मतपत्रलगायतका विषयमा विभिन्न जिज्ञासा राखेका थिए ।

यादवले अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकबाट नेपालको कानुन, निर्वाचन आचारसंहिता र पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना भई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भेटमा कञ्चनपुर जिल्लामा पर्यवेक्षणका क्रममा भएका कमीकमजोरी र अब अपनाउनुपर्ने सर्तकताका विषयमा पनि छलफल भएको थियो ।

प्रमुख आयुक्त यादवले युरोपियन युनियनले विगतका निर्वाचनहरूमा नेपालको निर्वाचन पर्यवेक्षण गरेको स्मरण गर्दै त्यसका लागि युरोपियन युनियनलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट हुने निर्वाचन पर्यवेक्षणबाट नेपालको निर्वाचनको विश्वसनीयता अझ बढ्ने धारणा राखे । उनले अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकहरुबाट नेपालको कानुन, निर्वाचन आचारसंहिता र पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना हुने विश्वास प्रकट गरेका छन् ।

प्रमुख आयुक्त यादवसमक्ष युरोपियन युनियनको टोलीले निर्वाचन पर्यवेक्षण गर्दा नेपालको कानुन, निर्वाचन आचारसंहिता र अन्तर्राष्ट्रिय पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना हुने विश्वास व्यक्त गर्‍यो । भेटमा चेक रिपब्लिक, जर्मनी, अष्ट्रिया, स्पेन, स्लोभाकिया, बेलायतको तर्फबाट युरोपियन युनियनको प्रतिनिधित्व गर्दै आएका सांसद्हरुलगायत पर्यवेक्षण संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।

भेटमा युरोपियन युनियनका सांसद्हरुले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई बधाइ ज्ञापन गरे । साथै भेटमा आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकाल तथा परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्लेसमेत उपस्थित थियो ।

यसैगरी, आजै प्रमुख आयुक्त डा. यादवसँग युरोपियन युनिययन निर्वाचन पर्यवेक्षण मिसन–२०१७ नेपालका प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले भेट गरेका छन् । टोलीले यादवलाई युरोपियन युनियनबाट खटिएका पर्यवेक्षकहरूबाट हालसम्म सम्पादन भएका काम कारबाहीबारे अवगत गराएको थियो ।

Share News