काठमाडौं । निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समितिले निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेकोमा उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

मंसिर १० गते प्रथम चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएपछि उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेपछि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत दिइएको छ ।
निर्वाचन आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिले माननीय उपप्रधानमन्त्रीसँग सोधेको स्पष्टीकरण यस प्रकार छ :
‘‘आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सन्दर्भमा मिति २०७४/०५/१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइरहेको व्यहोरा विदित नै छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रथम चरणको निर्वाचनको सन्दर्भमा यही मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको अवस्थामा माननीयज्यूले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना आयोगमा प्राप्त हुन आएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड (घ) को उपखण्ड (१) विपरीत देखिएको हुँदा यहाँलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४÷०८÷०८ को निर्णयानुसार अनुरोध छ ।’’
आयोगले स्पष्टिकरण माग गरेपछि थापाले आफ्नो ट्विट डिलिट गरेका छन् ।
निर्वाचन आयोगले ध्यान आकर्षित गराएको हुंदा आज बिहान मैले गरेको चुनाव केन्द्रित ट्विटहरु डिलिट गरेको छु। निर्वाचन आचारसंहिताको पालनामा म पुर्ण प्रतिबद्ध छु।
— Kamal Thapa (@KTnepal) November 24, 2017