काठमाडौं । भारतबाट मल भित्रिन सुरु गरेको छ । भारतीय रेलवे बोर्डले रेलवेको सामान बोक्ने र्याकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेपछि मल भित्रिन थालेको हो ।
भारतले रेलवे र्याकमा प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली बजार वीरगञ्जमा चिनी र मलको आयात रोकेको थियो । लगातारको कुटनीतिक पहलपछि मल बिहिबारदेखि भित्रिन थालेको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागिय प्रमुख पंकज जोशीले जनाएका छन् । उनले भने, ‘करिब १ महिना बढी लामो प्रयासपछि आजबाट मल भित्रिएको छ ।’
सरकारले कलकत्ता बन्दरगाहमा उत्पन्न अवरोध तथा भारतले र्याकमा प्रतिबन्ध लगाएपछि मल आपूर्ति गर्न सकेको थिएन ।
जोशीका करिब १ महिनादेखि ४० हजार मेट्रिक टन मल र १० हजार मेट्रिक टन चिनी भारतको हल्दियास्थित गोदाममा थन्किएर बसेका छन् । आज करिब १ र्याक मल भित्रिएको उनले बताए ।
कलकत्तामा ७ किलोमिटर लामो रेलको लिग बिग्रेपछि यस्तो समस्या देखापरेको थियो । हल्दियामा रेलवे बोर्डले र्याकमा प्रतिबन्ध लगाएपछि चिनी तथा मल आपूर्तिमा अवरोध पुगेको थियो ।
चिनी आइपुगेन
१० हजार मेट्रिक टन बराबरको चिनी भने आयात भएको छैन । उनले भने, ‘एउटा ठुलो समस्या पार लागेको छ । तर भारतले कतिदिनसम्म मल भित्र्याउन दिने भन्नेबारे सशंय कायम नै रहेको छ ।’
साल्ट ले आगामी निर्वाचनसम्म अत्यावश्यक वस्तु मानिने चिनीको अभाव नहुने जानकारी दिएको छ । जोशीका अनुसार साल्टसँग अहिले १० हजार मेट्रिक टन चिनी मौज्दात छ, जुन १ महिनाका लागि धान्न पुग्छ । उनले भने, ‘चुनावसम्म त चिनीमा हामीलाई पुग्नेजति मौज्दात छ ।’