काठमाडौं । एनसेल प्राइभेट लिमिटेड (एनसेल) ले आफ्ना सबै कर्मचारीहरुमा बिहीबार ‘डिजिटल ज्याम’कार्यक्रम आयोजना गरेको छ । कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीको सेवालाई थप परिस्कृत तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले यस कार्यक्रमको आयोजना गरेको हो ।
आजिआटा ग्रुपको पहलअन्तर्गत आयोजित सो कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र काम गर्ने नयाँ तरिकाका बारेमा परिक्षण गरे । साथै, डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइल एप, च्याटबट र वेबसाइट लगायतका विभिन्न सोलुसन्सहरु बनाएका थिए ।
‘‘कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्व द्रुतगतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रका लागि नयाँ तरिका अवलम्बन गर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्स्को विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नु बाहेक अरु कुनै विकल्प छैन,’’ आजियाटा गु्रपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृततान जमालुद्दिन इब्राहिमले भने ।
आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभा विकासका अभ्यासलाई अघि बढाउन आउदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिवद्घता जनाएको छ । यस अन्तर्गत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरुको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरुको क्षमता अभिवृद्धिमा लगानी गर्ने कम्पनीले जनाएको छ ।