काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । बुधबार सामान्य ८ अंकले उकालो लागेको नेप्से आज(बिहीबार) १३.०३ अंकले उकालो लागेर १४९३.२९ अंकमा पुगेको छ ।
दोहोरो अंकले उकालो लागेको बजारमा ६८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब ३४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(बुधबार)को बजारमा जम्मा ३४ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार १६५ कम्पनीको १३ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ ।
बजारमा सबैभन्दा बढी साना किसान विकास बैंकको २१ करोड ९९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । सो दिन यस कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता ९०० रुपैयाँ रहेको छ ।
दोहोरो अंकले उकालो लागेको बजारमा ट्रेडिङ समूहको परिसूचक बाहेक कारोबारमा आएका बाँकी समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रो समूहको परिसूचक ४६ अंकले उकालो लागेको छ ।
त्यस्तै, सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८.६७ प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १३ रुपैयाँ बढी कमाएका छन् । उता, सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.८७ प्रतिशत गुमाएका छन् ।