काठमाडौं । आगामी पाँच वर्षपछि बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) का लगानीकर्ता मालमाल हुने भएका छन् । चीनियाँ कम्पनीसंगको साझेदारीमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न संयुक्त लगानीमा होल्डिङस कम्पनी स्थापना भएसँगै आगामी ५ वर्षपछि बीपीसीका लगानी कर्ता मालामाल हुने देखिएको हो ।
१ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले २ खर्ब रुपैयाँ चीनियाँ लगानी ल्याउनेछ । यस्तै आफनो लगानीमा बीपीसीले ३७.६ मेगावाटको कावेली ए आयोजना कावेली इनर्जी लिमिटेड र ३० मेगावाटको न्यादी आयोजना न्यादी हाइड्रोपावर लिमिटेडमार्फत बीपीसीले निर्माण गरिरहेको छ । यी दुबै आयोजना आउदो ३ वर्षमा सम्पन्न हुदैछन् ।
यस्तै चीनियाँ लगानी ल्याउने भएपछि बीपीसीका आर्थिक अवस्था मजवुत भई लगानीकर्ताले राम्रो प्रतिफल पाउने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठ बताउछन् । बीपीसीले सहायक कम्पनीमार्फत धेरै आयोजना निर्माण गर्ने भएकाले दीर्र्घकालमा लगानीकर्ताले अझ राम्रो प्रतिफल प्राप्त गर्ने उनको भनाई छ ।
हाल बीपीसीले २८ देखि ३० प्रतिशत हारहारीमा लाभांश दिदै आएकोमा कावेली, न्यादी र अन्य पाइपलाइनमा भएका आयोजना सम्पन्न भएपछि सेयरधनीको प्रतिफल बढ्ने उनको तर्क छ । यो वर्षपनि २५ देखि २८ प्रतिशतको हारहारीमा सेयरधनीलाई लाभांश दिदै छ ।
बीपीसीले जलविद्युत आयोजना बनाउन चीनका ३ वटा कम्पनी र नेपाली साझेदार बीपीसीको संयुक्त लगानीमा एसजीआईजी इन्टरनेसनल नेपाल हाइड्रोपावर कम्पनी स्थापना भएको छ । कम्पनीका दर्ता बुधबार नै भएको छ । होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
सिचुवन प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, चेङ्गदु सिंचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयूआन इन्जिनीयरिङ्ग कन्सल्टिङ्ग कम्पनी लिमिटेडले नेपालमा होल्डिङ कम्पनी स्थापना गरेका हुन् ।
तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीका २०, चीनको एसजीआईको ६५ र १५ प्रतिशत क्युवाईईसी बेटरसिटीका स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ । होल्डिङस कम्पनीमा बीपीसीले ३८ करोड रुपैयाँ लगानी गर्नेछ । बीपीसीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ ।
यस्तै सहायक कम्पनीमार्फत बीपीसीले १०८ मेगावाट क्षमताको तल्लो मनाङमस्र्याङदी आयोजना निर्माण गर्ने भएको छ । यो आयोजनामा चीनियाँ लगानी हुने छ । सानो आयोजनामा मात्र बनाउन नहुने मान्यताका आधारमा जविद्युतमा ठुलो लगानी भित्राउने तयारी भएको उनको भनाई छ ।
नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब बढी (२ अर्ब डलर) वैदेशिक लगानी आउने भएको छ । यो वर्ष पनि लगानीकर्तालाई राम्रो प्रतिफल दिने सीइओ श्रेष्ठ बताउछन् । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ ।