काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आगामी आर्थिक वर्षदेखि नाफा घट्ने भएको छ ।

कम्पनीले सरकारलाई आम्दानीको २० प्रतिशत आयकर (कर्पोरट ट्याक्स) तिर्नुपर्ने भएपछि खुदनाफा घट्ने भएको हो । आगामी वर्षदेखि कम्पनीको लाभांशमा पनि कमी आउने भएको छ ।
सरकारले जलविद्युत आयोजनालाई १५ वर्षसम्म आयकर छुट दिदै आएको छ । अरुणभ्यालीको आयकर छुट सहुलियत आगामी वर्षदेखि सकिदै छ । कम्पनीले सन् २००३ भदौदेखि ३ मेगावाटको पिलुवाखोला साना जलविद्युत आयोजनाबाट व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको हो । उसको आयकर छुट चालु आर्थिक वर्षमात्र रहेको छ । आगामी वर्षदेखि आयकर सरकारलाई बुझाउनु पर्छ ।
सन् २००९ मा कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो । अरुण भ्यालीले प्रिमियम मूल्यमा प्रतिकित्ता १८४ रुपैयाँमा सेयर निष्कासन गरेको थियो । कम्पनीको ९३ लाख २३ हजार कित्ता सेयर नेपाल स्टक एक्चेन्ज लिमिटेडमा सुचिकृत छ । हाल अरुणभ्यालीको सेयर मूल्य प्रतिकित्ता २ सय रुपैयाँ मात्र छ ।
गत वर्ष कम्पनीले बिजुली बिक्रीबाट १३ करोड रुपैयाँ आम्दानी गरेको थियो । सो वर्ष कम्पनीले ८ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो । यस्तै चालु आवको पहिलो त्रैमाशमा अरुणभ्यालीको नाफा ५१ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा छ ।
कम्पनीले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, चिलिमे हाइड्रोपावर कम्पनी, जनता बैंक, अरुण कावेली पावर लिमिटेड, अपि पावर लिमिटेडलगायत १० वटा कम्पनीमा सेयर लगानी गरेको छ । चिलिमे हाइड्रोपावरको पनि आयाकर तिनुपर्दा आगामी वर्षदेखि नाफा घट्ने छ ।