भारतले चिनी र मलमा लगायो अघोषित नाकाबन्दी, बजारमा मलको चरम अभाव

<p>काठमाडौं । भारतले चिनी र मलको आयातमा अघोषित नाकाबन्दी लगाएको छ । भारतीय रेलवे बोर्डले रेलवेको पुनर्निर्माणको हवाला दिदैँ सामान बोक्ने र्‍याकमा प्रतिबन्ध लगाएको छ । भारतले रेलवे र्‍याकमा प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली बजार वीरगञ्जमा चिनी र मलको आयात रोकेको हो । नेपालमा यो बेला डिएपी मलको सबैभन्दा बढी माग हुनेगरेको छ । साल्ट ट्रेडिङ [&hellip;]</p>

काठमाडौं । भारतले चिनी र मलको आयातमा अघोषित नाकाबन्दी लगाएको छ । भारतीय रेलवे बोर्डले रेलवेको पुनर्निर्माणको हवाला दिदैँ सामान बोक्ने र्‍याकमा प्रतिबन्ध लगाएको छ ।

भारतले रेलवे र्‍याकमा प्रतिबन्ध लगाएपछि सीमावर्ती नेपाली बजार वीरगञ्जमा चिनी र मलको आयात रोकेको हो । नेपालमा यो बेला डिएपी मलको सबैभन्दा बढी माग हुनेगरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको भने गोदाम रित्याएर बसेका छन् ।

धान काटेर हिउँदे बाली लगाउन रसायनिक मलको अभाव भएपछि किसानहरु चिन्तित भएका छन् । हाल बजारमा डिएपी मलको माग उच्च हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । धान काटेर हिउँदे बाली लगाउनु अघि नै डिएपी खेतमा हाल्नुपर्ने भएकोले यसको अभावमा कृषकले समयमै हिउँदे बाली लगाउन सकेका छैनन् ।

सरकारले कलकत्ता बन्दरगाहमा उत्पन्न अवरोध तथा भारतले र्‍याकमा प्रतिबन्ध लगाएपछि मल आपूर्ति गर्न नसकेको कृषि मन्त्रालयले जानकारी दिएको छ । एक महिनादेखि भारतीय राजदूतावास, महावाणिज्य दूतावास मार्फत पहल गर्दा पनि समस्याको समाधान हुन नसकेको कृषि मन्त्रालय अन्तर्गत कृषि सामाग्री खरिद शाखाका प्रमुख इश्वरी पाण्डेले बताए ।

‘मलमा भारतले एक किसिमको अघोषित नाकाबन्दी लगाएको हो,’ उनले भने, ‘दशैंदेखि भारतले मल यता पठाउन दिएको छैन । रेलवे रेस्ट्रिक्सन नै यसको कारणको रुपमा देखा परेको छ ।’

साल्ट ट्रेडिङका अनुसार करिब १ महिनादेखि ४० हजार मेट्रिक टन मल र १० हजार मेट्रिक टन चिनी भारतको हल्दियास्थित गोदाममा थन्किएर बसेका छन् ।

साल्टले भारतीय दूतावास मार्फत सामान अड्किनुको कारण बुझ्दा उताबाट राजनीतिक कारण देखाएको विभागीय प्रमुख पंकज जोशीले बताए । समस्याबारे बुझ्न र समाधानका लागि आफू आगामी शुक्रबार हल्दिया जान लागेको उनले जानकारी दिए ।

साल्ट ट्रेडिङले आगामी निर्वाचनसम्म अत्यावश्यक वस्तु मानिने चिनीको अभाव नहुने जानकारी दिएको छ । जोशीका अनुसार साल्टसँग अहिले १० हजार मेट्रिक टन चिनी मौज्दात छ, जुन १ महिनाका लागि धान्न पुग्छ । उनले भने, ‘चुनावसम्म त चिनीमा हामीलाई पुग्नेजति मौज्दात छ । तर त्यसपछिका लागि भने आयात गर्नुपर्ने अनिवार्य छ ।’

शाखा प्रमुख पाण्डेले कर्मचारी तहबाट भन्दा पनि राजनीतिक पहल गर्नुपर्ने आवश्यकता देखिएको बताए । कृषि मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष करिब ४ लाख मेट्रिक टन रासायनिक मलको माग हुने गर्दछ ।

Share News