काठमाडौं । राजधानीका सार्वजनिक स्थानहरु मिचिने क्रम तीव्र बनेको छ ।

विशेषगरी मानिसहरु बढी भिडभाड हुने सार्वजनिक स्थानहरु अतिक्रमणको चपेटामा परेका छन् । काठमाडौं महानगरपालिकाको मुटुमा रहेको खुल्लामञ्चस्थित पुरानो बसपार्क त्यसको ज्वलन्त उदाहरण हो ।
उक्त बसपार्कमा ५० भन्दा बढी टहराले अनाधिकृत रुपमा सञ्चालनमा छन् । ती टहरामा महानगरपालिकाले स्वीकृत गरेको नक्सा विपरित पसलहरु सञ्चालन गरिएका छन् । तर, यसबारे नगर प्रहरी नै बेखबर छ ।
महानगरपालिका अन्तर्गत राजश्व विभागले बारम्बार निर्देशन दिदाँ पनि नगर प्रहरीले अतिक्रमण हटाउन कुनै पहल गरेको छैन ।
गत असोज २८ मा यथास्थितीमा बसपार्क सञ्चालन गर्दा आय घटेको भन्दै विभागले अनाधिकृत टहरा र फुटपाथ पसल हटाउन नगर प्रहरीलाई पत्राचार गरेको थियो । विभागका अनुसार गत आर्थिक वर्षमा महानगरले उक्त बसपार्कबाट करिब ४१ लाख रुपैयाँ बराबरको राजश्व असुलेको थियो ।

उक्त पत्र अनुसार प्रतिक्षालय भनिएका ठाँउमा बनाइएका टहरामा पसल सञ्चालन गर्ने व्यापारीलाई कारबाही गर्न निर्देशन दिएको थियो । त्यस्तै साइकल लगायत सोडा, ठेला गाडा प्रवेश निषेध गर्न केही दिनका लागि नगर प्रहरी विहानदेखि साझसम्म खटिनुपर्ने उक्त पत्रमा उल्लेख छ ।
राजश्व विभागका प्रमुख महेश काफ्ले भन्छन्, ‘हामीले क्यान्टिन, औषधी पसल, शौचालय र प्रतिक्षालय सञ्चालनका लागि मात्र स्वीकृती दिएका हौं । त्यहाँ अन्य ५० भन्दा बढी टहरामा पसलहरुर अनाधिकृतरुपमा चलिरहेका छन् ।’
उनका अनुसार महानगरपालिकाले अनुगमन गर्दा उक्त टहरा अतिक्रमण गरि सञ्चालनमा ल्याएको पाइएको थियो । अनाधिकृत पसलहरु हटाउन महानगरले नगर प्रहरी कार्यालयलाई पत्राचार गरिसकको उनले बताए ।
नगर प्रहरी विष्णु जोशी भने महानगरले दिएको ‘निर्देशन’ बारे जानकारी नभएको बताए । उनले भने, ‘जनप्रतिनिधी आउनु अगाडी तत्कालिन कार्यकारी निर्देशकले नक्सा अनुसार ‘के-के’ राख्ने भनेर तोकेको थियो । त्यसपछि हटाउनुपर्ने कुरा केही जानकारी आएको छैन ।’

अनाधिकृत टहरा हटाउनुपर्ने जिम्मेवारी नगर प्रहरीको रहेको काफ्लेको भनाई छ । उनले भने, ‘यदी नगर प्रहरीलाई साच्चै जानकारी नभएको हो भने २४ घण्टामा हटाउन अर्को पत्र पठाउन तयार छु ।’
गत वर्ष बैशाख २२ मा पुरानो बसपार्क रहेको स्थानमा टावर निर्माण गर्ने भन्दै बसपार्कलाई खुल्लामञ्च सारिएको थियो । महानगरपालिकाले तत्कालिन पुरानो बसपार्कको जग्गा खाली गराएर सम्पूर्ण सवारी साधनहरु त्यहा सारेको थियो ।
