नर्भिक अस्पतालका हाकिमको बयान-‘१३ प्रतिशत सेवा शुल्क लिन पाउनुपर्छ’

<p>काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले १३ प्रतिशत सेवा शुल्क असुल्न पाउनुपर्ने बयान दिएका छन् । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा पनि सेवा शुल्कका नाममा अतिरिक्त शुल्क उठाएको भन्दै विभागले छानविन थालेपछि उनले यस्तो बयान दिएका हुन् । विभागले छानविन अघि बढाएपछि विभागमै पुगेर सिंहले १३ प्रतिशत सेवा शुल्क लिन नपाउने व्यवस्था [&hellip;]</p>

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले १३ प्रतिशत सेवा शुल्क असुल्न पाउनुपर्ने बयान दिएका छन् । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा पनि सेवा शुल्कका नाममा अतिरिक्त शुल्क उठाएको भन्दै विभागले छानविन थालेपछि उनले यस्तो बयान दिएका हुन् ।

विभागले छानविन अघि बढाएपछि विभागमै पुगेर सिंहले १३ प्रतिशत सेवा शुल्क लिन नपाउने व्यवस्था कहिँ उल्लेख नभएकाले आफूहरुले लिएको शुल्क जायज रहेको दावी गरेका थिए ।

आपूर्ति विभागले नर्भिक इन्टरनेशनल अस्पतालका सञ्चालकसँग बयान लिन थालेको छ । सेवा शुल्कका नाममा बिरामी ठगी गरेको आरोपमा छानबिनमा परेको नर्भिक अस्पतालका सञ्चालकसँग आइतबार आपूर्ति विभागले बयान लिएको हो ।

विभागका अधिकृत घिमिरेका अनुसार आवश्यकताअनुसार थप बयानका लागि विभागले कार्यकारी निर्देशक सिंहलाई शुक्रबार फेरि बोलाएको छ । बयानमा सिंहले अस्पतालले १३ प्रतिशत सेवा शुल्क लिएको र ३० वटा बेड सञ्चालन गरेको कुरा स्वीकारेको बताए ।

विभागलाई बयान दिनेक्रममा सिंहले सेवा शुल्क लिन नपाइनेबारे कुनै प्रावधानबारे जानकारी नभएको बताएका छन् । अधिकृत घिमिरेले सिंहको भनाइ उदृत गर्दै भने, ‘हामी वर्षैपिच्छे कम्पनी रजिष्टार कार्यालयलाई अडिट बुझाउँदा पनि १३ प्रतिशत सेवा शुल्क लिन नपाइने कुरा कहिले आएन ।’

विभागका महानिर्देशक कुमार दाहालका अनुसार कार्यकारी निर्देशक सिंहसँग बयान लिइसकेको छ । बयानपछि विभागले मुद्दा दायर गर्ने वा नगर्ने विषयमा सरकारी वकिलसँग राय/सुझाव माग गरेको छ । उनले भने, ‘विभागले अस्पतालको विषयमा प्रमाण बटुल्ने काम गरिरहेको छ । प्रमाण पुगेपछि कारबाहीको प्रक्रिया अगाडी बढाउँछौं ।’

त्यस्तै थप ३० वटा शैया स्वीकृती बिना सञ्चालनमा ल्याएको अस्पताल माथिआरोप छ । सिंहले पूर्वाधार निर्माणका लागि स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वीकृति सहितका कागजात प्रस्तुत गरेका छन् ।

अस्पतालले १०० शैया थप गरी जम्मा २०० शैया क्षमताको अस्पताल सञ्चालनका लागि स्वीकृत माग गरेको थियो । स्वास्थ्य सेवा विभागले पूर्वाधार सहित २०० वटा शैया सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण थप्न निर्देशन दिएको थियो ।

उनले पूर्वाधारसँगै शैया पनि सञ्चालनमा ल्याएको बताउँदै विभागलाई स्पष्टिकरण बुझाएका छन् । पूर्वाधारका लागि प्राप्त स्वीकृतिका आधारमा थप शैया सञ्चालनमा ल्याएको बयान दिएको घिमिरेले जानकारी दिए ।

Share News