काठमाडौं । मिदिमखोला (करापु) जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । आयोजनाको हाल परीक्षण उत्पादन भइरहेको छ । आउदो मंसिरदेखि ३ मेगावाटको मिदिम खोलाबाट व्यवसायिक रुपमा बिजुली उत्पादन हुने छ ।

युनियन हाइड्रोपावर लिमिटेडले आयोजनाको निर्माण गरेको हो । हाल परीक्षण उत्पादनको काम सफल भएको कम्पनीका अध्यक्ष किरण मल्लले बताए । मंसिरदेखि औपचारिक रुपमा बिजुली उत्पादन हुने उनले जानकारी दिए ।
आयोजनाको सुरुको लागत ५४ करोड रहे पनि समय र लागत थप भएकाले आयोजना ६५ करोड रुपैयाँ खर्च भएको अनुमान गरिएको छ ।
युनियन र नेपाल विद्युत् प्राधिकरण बीच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको हो । विद्युत् प्राधिकरणबीच सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरि पीपीए सम्झौता भएको हो ।
करापु र नाल्मा गाउँको सिमानामा पर्ने लाङ्दी फेदीमा आयोजनाको बाँध निर्माण गरी १ किलोमिटर मिटर लामो भूमिगत सुरुङबाट करापु–९ पत्तरीमा पु¥याई विद्युत् उत्पादन गरिएको छ ।
स्थानीयको आयोजनामा जनसहभागिता बढाउनका लागि प्रभावित गाविसका लागि १० प्रतिशत सेयर निष्कासन गर्ने भएको छ । युनियनले पहिलो चरणमा स्थानियबासिन्दालाई ६ करोड ३३ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको ६ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।
सेयर निष्कासनका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । त्यसपछि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने युनियनले जनाएको छ ।