काठमाडौं । दुई साताको अवधिमा बैंकिङ प्रणालीबाट लगानीयोग्य पुँजी (तरलता) २३ अर्ब रुपैयाँ घटेको छ । कात्तिक १५ गते बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ तरलता भएकोमा घटेर २० अर्ब रुपैयाँ सीमित भएको छ । यसले विस्तारै बजारमा तरलता अभाव हुने संकेत गरेको छ ।
पछिल्लो समयमा तरलता घटेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेलाई बताइन् । उनकाअनुसार बैंकिङ प्रणालीमा अझै २० अर्ब रुपैयाँ तरलता भएपछि राष्ट्र बैंकले मंगलबार ५० करोड रुपैयाँ उठाउने भएको छ ।
केन्द्रीय बैकले एक साताका लागि बोलकबोलबाट तरलता प्रशोचन गर्ने भएको हो । रिभर्स रिपोमार्फत केन्द्रीय बैंकले बजारबाट ७ साताका लागि उठाउन लागेका हो । मंसिर ५ गते उठाएको रकम फिर्ता हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरणमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७७ प्रतिशत माथि नै रहेको देखिएको छ । थप निक्षेप नआएमा बैंकिङ प्रणालीमा तरलता अभाव हुने देखिएको छ । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाह वृद्धि रोकिएकाले बैंकलाई तरलता व्यवस्थापन गर्न चुनौती हुने देखिएको छ ।
सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य बैंकमा तरलता कसिलो हुदै गएको छ । राष्ट्रिय वाणिज्यको सीसीडी रेसियो ६५ प्रतिशत हारहारीमा छ । साउनयता बैंकिङ प्रणालीमा तरलताको अवस्था सहज हुदै गएकोमा पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता कम हुदै गएको देखिएको छ । भदौ २९ गते ७० अर्ब रुपैयाँ तरलता रहेकोमा लगातार घटदै गएको छ ।
बैंकको कर्जा लगानी पनि बढ्दै गएको देखिएको छ । तरलताको अवस्था तलमाथि भइरहने गरेको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने रिपोमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ ।