तनहुँ जलविद्युतलाई १०४ मेगावाटको अर्ध जलशाययुक्त आयोजनाको लाइसेन्स

<p>काठमाडौं । सरकारले तनहुँ हाइड्रोपावर लिमिटेडलाई १०४ मेगावाट क्षमताको तल्लोसेती जलविद्युत आयोजनाको लाइसेन्स दिएको छ । १४० मेगावाटको तनहुँ जलशाययुक्त आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावरले अर्को अर्धजलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको छ । कम्पनीलाई आयोजनाको लाइसेन्स दिइएको विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । ‘ऊर्जा मन्त्रालयको कात्तिक २ गतेको निर्णयबाट [&hellip;]</p>

काठमाडौं । सरकारले तनहुँ हाइड्रोपावर लिमिटेडलाई १०४ मेगावाट क्षमताको तल्लोसेती जलविद्युत आयोजनाको लाइसेन्स दिएको छ ।
१४० मेगावाटको तनहुँ जलशाययुक्त आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावरले अर्को अर्धजलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको छ ।

कम्पनीलाई आयोजनाको लाइसेन्स दिइएको विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए ।

‘ऊर्जा मन्त्रालयको कात्तिक २ गतेको निर्णयबाट आयोजनाको सर्वे लाइसेन्स कम्पनीलाई दिने निर्णय भएको छ’,सिंहले भने,‘लाइसेन्सको अवधि दुई वर्षको रहने छ ।’

गत वर्षको चैतमा तनहुँ जलविद्युतको स्थलगत निरीक्षणमा गएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको तल्लो तटमा पर्ने अर्को आयोजनाको लाइसेन्स लिने प्रक्रिया अगाडि बढाउन कम्पनीका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेलाई निर्देशन दिएका थिए ।

निर्देशन अनुसार कम्पनीले लाइसेन्सका लागि विभागमा दरखास्त हालेको थियो । सरकारको आरक्षण सूचिमा (बास्केट) रहेकाले कम्पनीले आयोजनाको लाइसेन्स लिन दुई वर्षको एक मुष्ट एक करोड ८० रुपैया दस्तुर बुझाएको विभागले जनाएको छ ।

तनहुँ जलविद्युत आयोजनाको जलशायमा सञ्चित भएको पानीलाई हिउँदमा विद्युत उत्पादन प्रयोग गरिने हुँदा तल्लो सेती आयोजना हिँउदको विद्युत व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको छ । तनहुँ जलविद्युत आयोजनाको सञ्चित पानीको फाइदा तल्लो सेतीले समेत पाउने देखिन्छ ।

तल्लो सेती (तनहुँ) जलविद्युत आयोजनाको बाँध अहिले निर्माण भइरहेको तनहुँ जलविद्युत आयोजनाको विद्युत गृहबाट करिब २० किलोमिटर तल्लो तटमा पर्ने केशरटारमा पर्छ । जुन स्थान त्रिशुली र सेती नदीको दोभानभन्दा करिव १९ किलोमिटर माथिल्लो तटमा र चितवको नारायणघाटबाट करिव ३३ किलोमिटरमा पर्छ । आयोजनाबाट वार्षिक करिव ४४ करोड युनिट ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाको अनुमानित लागत करिव २२ करोड अमेरिकी डलर छ ।

Share News