काठमाडौं । जनता बैंकको साधारण सेयर खरिद गर्न आवेदन दिने लगानीकर्ताको पैसा फिर्ता हुने भएको छ । जनता बैंकको सञ्चालक समिति बैठकले आवेदन दिने सबैको पैसा फिर्ता दिने निर्णय गरेको हो ।

बैंकले शुक्रबार नै फिर्ता गर्ने निर्णय गरेको अध्यक्ष केशवबहादुर रायमाझीले बताए । “आज वा भोली पैसा फिर्ताको सुचना आउदै छ” उनले भने । लगानीकर्ताको पैसा धेरै दिन राख्न नमिल्ने भएकाले फिर्ता दिने निर्णय गरिएको उनको भनाई छ ।
उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेबाट जफत जनता बैंकको साधारण सेयर लिलामी नगर्ने आदेश दिएपछि बैंकले फिर्ता दिन लागेको हो । बैंकले गुरु न्यौपानेबाट जफत गरिएको ८५ हजार १ कित्ता साधारण सेयर लिलामीका लागि खुला गरेकोमा अन्तिम दिन मंगलबारसम्म ७ सय जनाको आवेदन परेको थियो ।
गुरु न्यौपानेले सेयर जफतको विरुद्धमा रिट हालेपछि उच्च अदालत पाटनले तत्कालका लागि सेयर लिलामी रोक्न मंगलबार प्रारम्भीक आदेश दिएको छ । काठमाडौं क्यापिटलले अर्को सुचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जानकारी गराइसकेको छ ।
बैंकको सञ्चालक भएका बेला गुरु न्यौपाने संस्थागत सुशासन उल्लंघन गरेर श्रीमति सावित्रादेवी न्यौपाने नाममा ठुलो परिमाणमा भित्री रुपमा सेयर किनेको (इन्साइडर ट्रेडिङ) गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले गुरुकी श्रीमति सावित्रीदेवीको नाममा रहेको ८५ हजार १ कित्ता सेयर जफत गर्न निर्देशन दिएको थियो । प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्य रहेको सेयर बिक्री गर्दा हालको बजार मूल्यअनुसार २ करोड १९ लाख रुपैयाँ हुन्छ ।