काठमाडौं । स्वदेशी तथा विदेशी संयुक्त लगानीमा १ सय मेगावाट क्षमताको सुपर त्रिशुली जलविद्युत आयोजनाको निर्माण हुने भएको छ ।
सरार्फ ग्रुप, हङकङको डोमिन्स होल्डिङस र नेपालीको संयुक्त लगानीमा आयोजना निर्माण हुन लागेको हो ।

आयोजना निर्माण गर्न १६ अर्ब रुपैयाँ लाग्ने प्रवद्र्धक ब्लु इनर्जी प्रालिले गरेको संभाव्यता अध्ययनले देखाएको हो । आयोजनाबाट २०७९ असाेज १४ गतेदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको ब्लु इनर्जीका निर्देशक निरञ्जन रेग्मीले बताए ।
आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्न हङकको डोमिन्स होल्डिङसंग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । यसका अतिरित्त नेपालमा होटल व्यवसाय गर्दै आएको सरार्फ र नेपालीको लगानी हुने भएको छ । सराफ ग्रुपले २३.५ मेगावाटको सोलु आयोजनामा पनि लगानी गरेको छ । हाल सो आयोजना निर्माण भइरहेको छ ।
विद्युत उत्पादन गर्न विद्युत विकास विभागले ब्लु इनर्जीलाई अनुमतिपत्र (लाइसेन्स) दिन लागेको छ । ३५ दिनभित्र उसले विद्युत उत्पादन लाइसेन्स पाउदै छ । यो वर्ष लाइसेन्स लिने, लगानी जुटाउने, आयोजनास्थलमा अस्थाइ क्याम्प बनाउने जस्ता पुर्वनिर्माणको काम सकेर आउदो वर्षदेखि आयोजना निर्माण थाल्ने निर्देशक रेग्मीले जानकारी दिए ।
उनका अनुसार आयोजनामा विश्व बैंक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) ऋण लगानी गर्न तयार भइसकेको छ । यस्तै कर्मचारी संचय कोष र नागरिक लगानी कोषसंग पनि सुपर त्रिशुलीमा लगानीका लागि छलफल सुरु भएको उनले जानकारी दिए । नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गर्न लागेको रेग्मीले बताए ।
सुपर त्रिशुलीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) एसएनभी ल्याभिन क्यानाडाले गरेको हो । डीपीआरले आयोजना निर्माणा लागत सस्तो पर्ने देखाएको रेग्मीको भनाई छ । डीपीआर अनुसार आयोजनाको प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ छ । ब्लु इनर्जीलाई पब्लिक कम्पनी बनाई सर्वसाधारणमा सेयर निष्कासन गर्ने उनले जानकारी दिए ।
आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ । आयोजनामा इक्विटीको समस्या नभएको उनले स्पष्टपारे । काम सुरु गरेको ३ वर्ष ९ महिनामा आयोजना सम्पन्न हुनेछ । आयोजनाको बाँधसंगै विद्युतगृह हुने (ड्याम टोई) प्रकृतिको छ । यस्तो संरचना हुने सुपर त्रिशुली नेपालको पहिलो जलविद्युत आयोजना हुनेछ ।
नदीको वहावमा आधारित आयोजनाबाट वार्षिक ४० करोड ६७ लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको हेड १४.५ मिटर मात्र हुने छ । होरिजेन्ट एक्सिस भएको बल्ब टर्वाइनमा पानी खसाले आयोजनाबाट बिजुली उत्पादन हुने छ ।
आयोजनाको मुल संसचना राजधानीबाट १ सय किलोमिटर टाढाको दुरीमा हुने छ । चितवनको दारेचोक र गोरखाको मकैसिंहमा पर्छ । आयोजनाबाट १९ किलोमिटर टाढा आवुखैरनीमा रहेको २२० केभी क्षमताको सवस्टेशनमा बिजुली जोडिने छ ।