बेवास्तामा विशाखापट्टनम बन्दरगाह, कतिञ्जेल धान्ला कलकत्ताले ?

<p>काठमाडौं । अघिल्लो वर्ष तेस्रो मुलुकबाट सामान आयात गर्नकालागि नेपालले विषाखापट्टनम बन्दरगाह प्रयोग गर्ने सम्झौता गरेको थियो । तर सम्झौता भएको डेढ वर्षपुग्दा पनि आयातकर्ताले यसको उपयोग गर्न सकेका छैनन् । बढ्दो आयातको चापका कारण नेपालका लागि सामान लोड गरी आएका ७१० कन्टेनर कलकत्ता बन्दरगाहमा अलपत्र परेका छन् । तेस्रो मुलुकसँगको कारोबारका लागि भारतले उपलब्ध [&hellip;]</p>

काठमाडौं । अघिल्लो वर्ष तेस्रो मुलुकबाट सामान आयात गर्नकालागि नेपालले विषाखापट्टनम बन्दरगाह प्रयोग गर्ने सम्झौता गरेको थियो । तर सम्झौता भएको डेढ वर्षपुग्दा पनि आयातकर्ताले यसको उपयोग गर्न सकेका छैनन् ।

बढ्दो आयातको चापका कारण नेपालका लागि सामान लोड गरी आएका ७१० कन्टेनर कलकत्ता बन्दरगाहमा अलपत्र परेका छन् । तेस्रो मुलुकसँगको कारोबारका लागि भारतले उपलब्ध गराएको दुई विकल्पमध्ये विषाखापट्टनम बन्दरगाह उपयोगमा नआउँदा कलकत्तामा चाप बढेको हो ।

गत वर्ष सबै कानुनी तथा प्रक्रियागत कार्य पूरा भई जुनको पहिलो सातादेखि नेपालले औपचारिक रूपमा प्रयोग गरेको विशाखापट्टनम बन्दरगाहमा यतिबेला नेपालको त्यति धेरै कारोबार छैन । यो बन्दरगाहको उपयोग नहुँदा कलकत्ता बन्दरगाहमा चाप बढी हुने गरेको वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले बताए । व्यवसायीले दुई बन्दरगाहलाई प्रतिस्पर्धा गराएर फाइदा लिन नसकेको उनले बताए ।

कलकत्ताको एकाधिकारका कारण सेवामा ढिलाइ हुने गरेको उनले बताए । उनले भने, ‘कलकत्ताबाट भन्दा विशाखापट्टनबाट सामान ल्याउँदा धेरै फाइदा छ । तर आयातकर्ताले अझै यो बन्दरगाहको उपयोग गर्न सकेका छैनन् । आयातकर्ताले विशाखापट्टनमबाट सामान ल्याउने हो भने यो समस्या आउँदैन ।’

कलकत्ता बन्दरगाहभन्दा धेरै कारणले यो बन्दरगाह नेपालका लागि फाइदाजनक छ । रेल र सडक मार्ग कलकत्ताभन्दा दोब्बर भए पनि समग्रमा यो आधुनिक प्रविधिमा आधारित पेपरलेस बन्दरगाह नेपालका लागि धेरै उपयोगी रहेको अधिकारीहरू बताउँछन् ।

तर सडक मार्ग भने निकै लामो भएकाले प्रयोग गर्ने कार्य त्यति सहज छैन । रेल र सडक मार्ग कलकत्ताभन्दा दोब्बर भएकाले विशाखापट्टनबाट कारोबार अगाडी बढ्न नसकेको नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेशकुमार अग्रवालले बताए । टाढा भएकाले नै आयातकर्ताले विशाखापटनमको उपयोग गर्न नसकेको उनले बताए ।

कोलकातादेखि वीरगन्ज नाकासम्मको दूरी ७५२ किलोमिटर छ भने विशाखापट्टनमदेखि वीरगन्जसम्म १४ सय ७१ किलोमिटर दूरी पर्छ ।
सिपिङ कम्पनीको पनि विशाखापटनप्रतिको आकर्षण कम देखिएको अग्रवालले बताए । उनले भने, ‘अहिले सम्म कलकत्ताबाहेक सिपिङ कम्पनीको विशाखापटनममा त्यति ठुलो आकर्षण छैन । त्यसैले यो बन्दरगाहबाट धेरै ठुलो मात्रामा सामानहरु आउन सकेको छैन ।’

अपर्याप्त रेलवे र्‍याक 

वाणिज्य मन्त्रालयका सचिव घिमिरेले दशैंयता यो बन्दरगाहमा थुप्रै मालवाहक कन्टेनर अड्किएको बताए । रेलवे र्या कको अभावका कारण पनि कन्टेनरहरु अड्किएको उनले जानकारी दिए ।

मन्त्रालयले उक्त कन्टेनर ल्याउनका लागि कन्सुलर कार्यालय तथा नेपाल-भारत महावाणिज्य दूतावास मार्फत अपरेटरलाई समस्याको समाधान गराउन प्रयास भइरहेको उनले बताए ।

‘म पहिला कलकत्ता बन्दरगाह मै काम गरेर आएको हु,’ उनले भने, ‘हरेक वर्ष यो समयमा यस्तो समस्या आउनेगर्छ । २०० वटा भन्दा बढी कन्टेर बढ्नेबित्तिकै त्यहाँ समस्या आउनेगर्छ । धेरै कन्टेनर हुँदा त्यसलाई ओसारपसार गर्न र्यााकको मात्रा बढाउनुपर्ने देखिन्छ ।’
दशैं, तिहारमा आयातकर्ताले धेरै सामान आयात गर्ने भएकाले बन्दरगाहमा चाप बढ्ने गरेको छ । घिमिरेका अनुसार दसैंमा कन्टेनरको संख्या १४ सय सम्म पुगेको थियो ।

दोस्रो अपरेटर

कोलकत्ताबाट सामान वीरगञ्जसम्म ल्याइदिने कम्पनीमा रहेको एकाधिकारका कारण पनि आयातमा समस्या देखिएको सचिव घिमिरेले बताए । रेल्वे र्या क भारतीय रेल्वेको भगिनी कम्पनी कोंकरको हो । नेपाल-भारत रेलवे सम्झौता अनुसार कोलकत्ताबाट सामान ल्याइदिने जिम्मा कोंकरलाई मात्र दिइएको छ ।

उनले भने, ‘सम्झौता अनुसार कलकत्ताबाट वीरगञ्ज ल्याउने एउटामात्र अपरेटर कोंकर हो । हामीले कोंकरसँगै अर्को विकल्प खोज्नुपर्ने भइसक्यो । एउटा मात्रै कम्पनीले सामान ल्याउने हुँदा यस्तो समस्या आएको हो । र्‍याकको अभाव भएकाले अरु अपेरटरलाई पनि जिम्मा दिइयो भने यस्तो समस्या देखिदैन होला ।’

Share News