काठमाडौं । सेयर ब्रोकरहरुले अहिले बैंकबाट चर्काे ब्याजदरमा ऋण लिएर सेयरमा लगानी गर्ने उपयुक्त समय नभएको बताएका छन् ।
उनीहरुले लगानी कर्तासँग भएको आफ्नै रकमबाट सेयर किन्न उपयुक्त समय भएको तर बैंकबाट ऋण लिएर सेयर खरिद गर्दा डुब्ने सम्भावना बढेको बताएका हुन् ।

बजार निरन्तर घटिरहेकाले बैंकबाट चर्को ब्याजमा ऋण लिएर सेयरमा लगानी नगर्न ब्रोकरले सुझाएका हुन् । अहिलेको अवस्थामा बैंकबाट चर्को ब्याजमा मार्जिन कर्जा लिएर तत्काल नाफा हैन घाटा हुने सेयर ब्रोकर नरेन्द्र सिजापति बताउछन् । हाल बैंकको मार्जिन कर्जाको ब्याज दर १० प्रतिशत भन्दा बढी रहेको र बजार घट्दै गएकाले सेयर बिक्रीबाट तत्काल पाउने प्रतिफल कम हुने भएकाले यस्तो बेला जोखिम नउठाउन सिजापतिको सुझाव छ ।
“बजार घट्दै गएकाले अहिले आफुसंग भएको बचत रकम पछिलाई हेरेर मात्र लगानी गर्ने हो” उनी भन्छन् “बैंकबाट ऋण लिएर सेयर किने डुब्न सक्छ, बिचार गर्नुपर्छ ।” बैंकबाट चर्को ब्याज तिरेर मार्जिन कर्जा लिदा घाटा नै हुने उनको विश्लेषण छ ।
उनकाअनुसार अहिले वाणिज्य बैंकको मार्जिन कर्जा १० प्रतिशत भन्दा बढी रहेको, विकास बैंक १२ र वित्त कम्पनीको १५ र सहकारीबाट लिदा सो भन्दा बढी भएको अवस्थामा तत्काल लाभ भन्दा हानी हुने संभावा बढी रहेको उनको भनाई छ । १० प्रतिशत मार्जिन कर्जा लिएर लगानी गर्दा ५ प्रतिशत प्रतिफल पाउने अवस्था पनि नरहेको उनी बताउछन् ।
आफनो खल्तिबाट लगानी गरेर केही समय कुर्ने लगानीकर्ताका लागि मात्र अहिले उपयुक्त समय भएको उनको विश्लेषण छ ।
बजार घटिरहेका बेला सेयर किन्ने उपयुक्त समय भएपनि ब्याज दर बढी भएकाले ऋण लिएर सेयर किन्ने अवस्था नभएको अर्का सेयर ब्रोकर नन्दकिशोर मुन्दडा बताउछन् । “अहिलेको ब्याज दरले बजार बढाउन सहयोग गर्दैन किनभने कम्पनीले १० प्रतिशत नगद लाभांश दिन्छन” उनले भने “सेयर किनेकाे मूल्यकाे अाधारमा ४ प्रतिशत भन्दा कम प्रतिफल आउछ र अझै ६ प्रतिशत घाटा छ । ब्याजको कारण नबढ्न सक्छ ।”
सेयर बजारमा घटेको बेला प्रवेश गर्ने र बढेको बेला बेचेर निस्कने भएकाले अहिले नै बजारमा लगानी सुरु गर्नपर्ने उनको सुझाव छ । बैंकबाट ऋण लिएर हैन आफनो वचतको रकम मात्र सेयरमा लगानी गर्नुृपर्छ ।
“२५ प्रतिशत अहिले लगानी सुरु गर्ने, यो भन्दा तल आयो भने फेरी २५ प्रतिशत लगानी थप्नुपर्छ” उनी भन्छन “एकैपटक सेयरमा लगानी गर्नुहुदैन् ।” पछिल्लो समयमा बजार पनि निरन्तर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मार्जिक कर्जा ४० अर्ब ४५ करोड रुपैयाँ बढी छ ।