काठमाडौं । ‘समृद्ध मुलुक’ बनाउने घोषणा गरेका नेताहरुले नै फेसबुकका मालिक मार्क जुकरवर्गलाई धनी बनाईदिँदैछन् भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । तर सत्य आखिर सत्य नै हुन्छ, मुलुकमा समृद्धिको यात्रा आरम्भ भएको बताउँदै नागरिकसँग मत मागिरहेका नेताहरुले मार्क जुकरवर्गको सम्पति बढाउन सहयोग गरिरहेका छन् त्यो पनि नेपालको कानुनी व्यवस्थाको उल्लंघनमार्फत ।

नेपालको विद्यमान कानुनले फेसबुक लगायतका सामाजिक सञ्जालहरुको प्रमोशन(स्पोन्सर) गर्नुलाई अबैधानिक भनेको छ । सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि शुल्क बुझाउने कामलाई कानुनले नै बर्जित गरेको छ । तर नेपालका अधिकांश नेताहरुले आफ्नो फेसबुक पेज स्पोन्सर गराएर चुनावी प्रचार प्रचार गरिरहेका छन्, जसले नेपालको कानुनलाई उल्लघंन मात्रै गरेको छैन, मार्क जुकरवर्गको सम्पति पनि बढाईरहेको छ ।
‘सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि सटही सुबिधा लिन कोहि आएका छैनन् । हामीले तोकेको सेवा सुबिधा बाहेकका भुक्तानी गैर कानुनी हुन्’, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख रमेशकुमार पोखरेलले भने । नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले समाजिक सञ्जालहरुको स्पोन्सरका लागि हुने भुक्तानी कानुन विपरिद भएको तर त्यो नेपाल राष्ट्र बैंकको कार्यक्षेत्रमा पर्ने बताए । ‘फेसबुकहरुको स्पोन्सरका नाममा करोडौं रकम विदेशिएको छ, यो गैर कानुनी काम हो, तर विदेशी मुद्राको कारोबार र नियमन गर्ने नेपाल राष्ट्र बैंकले हो, प्राधिकरणले केहि भन्न मिल्दैन’, खनालले भने ।
मुलुकमा कानुनी शासन र त्यसकै जगमा समृद्धि र समानताको यात्रा छेडेको दावी गर्ने मुल राजनीतिक नेतृत्व नै विद्यमान कानुनको उल्लंघन गरेर करोडौं रकम गैर कानुनी ढंगले विदेश पठाउन तल्लिन रहेको यस्ता घट्नाले प्रष्ट हुन्छ । हाल प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष महन्थ ठाकुर, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई देखि प्राय सबै जसो उम्मेदवारले फेसबुक पेज स्पोन्सर गराईरहेका छन् । यति मात्रै होइन, प्रतिनिधी सभाको उम्मेदवार बनेका अधिकांश नेताहरुले फेसबुक स्पोन्सर गरेका छन् ।
प्रदेश सभाका लागि उम्मेदवारी दिएका धेरै नेताहरु पनि यहि दौडमा सामेल भएका छन् । बिशेष गरि युवा पुस्ताका चर्चित अनुहारहरु गगन थापा, योगेश भट्टराई, राजन भट्टराई, बर्षमान पुन, उदय शमशेर राणा, महेश बस्नेत लगायतले पनि आफ्नो फेसबुक पेजको स्पोन्सर गराएका छन् । उनीहरुले यसरी आफ्नो फेसबुक पेज स्पोन्सर गराएवापत फेसबुकलाई डलरमा भुक्तानी दिनुपर्छ । त्यसका लागि नेपालबाट करोडौं रकम बाहिरिरहेको छ ।