काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । मंगलबार करिब ९ अंकले घटेको बजार बुधबार दोहोरो अंकले घटेको छ । बुधबार एक बजेसम्म २४ अंकले ओरालो लागेको बजारलाई त्यसपछिको कारोबारमा भने केही टेवा पुगेको देखिन्छ । नेप्से परिसूचक १७ दशमलब ८३ अंकमा पुग्दा बुधबारको बजार बन्द भएको छ । मंगलबारको तुलनामा बुधबारको नेप्से १.२० प्रतिशतले घटेर १४६६ अंकमा अडेको छ ।
दोहोरो अंकले घटेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १३५ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक र अन्य समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले घटेका छन् ।
बजारमा सबैभन्दा बढी बोटलर्स नेपाल(तराई)को सेयर मूल्यमा ९.९८ प्रतिशत गिरावट आएको छ ।
बुधबार स्ट्याण्डार्ड चार्टर्ड बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी माहुली सामुदायिक लघुवित्त संस्थाका लगानीकर्ताले ४ प्रतिशत कमाएका छन् ।