काठमाडौं । उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेबाट जफत जनता बैंकको साधारण सेयर लिलामी नगर्ने आदेश दिएपछि आवेदकले खरिद गर्न जम्मा गरेको पैसा फिर्ता पाउने भएका छन् ।

मुद्धा लम्बिन सक्ने संभावना भएपछि आवेदकले जम्मा गरेको रकम सेयर बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटडले फिर्ता दिने भएको हो । धितोपत्र बोर्डसंग सल्लाह गरेर जम्मा भएको रकम फिर्ता दिने बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले बताए ।
छलफल गरेर यस विषयमा निर्णय लिने उनले जानकारी दिए । “लगानीकर्ताको पैसा धेरै दिन राख्न मिल्दैन” उनले भने “प्रक्रिया मिलाएर हामी आवेदकको पैसा केही दिनभित्रै फिर्ता दिने छौ ।”
बैंकले गुरु न्यौपानेबाट जफत गरिएको ८५ हजार १ कित्ता साधारण सेयर लिलामीका लागि खुला गरेकोमा अन्तिम दिन मंगलबारसम्म ७ सय जनाको आवेदन परेको थियो । गुरु न्यौपानेले सेयर जफतको विरुद्धमा रिट हालेपछि उच्च अदालत पाटनले तत्कालका लागि सेयर लिलामी रोक्न मंगलबार प्रारम्भीक आदेश दिएको छ । काठमाडौं क्यापिटलले अर्को सुचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जानकारी गराइसकेको छ ।
बैंकको सञ्चालक भएका बेला गुरु न्यौपाने संस्थागत सुशासन उल्लंघन गरेर श्रीमति सावित्रादेवी न्यौपाने नाममा ठुलो परिमाणमा भित्री रुपमा सेयर किनेको (इन्साइडर ट्रेडिङ) गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले गुरुकी श्रीमति सावित्रीदेवीको नाममा रहेको ८५ हजार १ कित्ता सेयर जफत गर्न निर्देशन दिएको थियो । प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्य रहेको सेयर बिक्री गर्दा हालको बजार मूल्यअनुसार २ करोड १९ लाख रुपैयाँ हुन्छ ।