काठमाडौं । उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेबाट जफत गरिएको साधारण सेयर लिलामी नगर्ने जनता बैंक नेपाललाई आदेश दिएको छ । उच्च अदालतले मंगलबार प्रारम्भिक सुनुवाई गर्दै तत्कालका लागि सेयर लिलालीको काम यथास्थानमा राख्न आदेश दिएको हो ।

अदालतको आदेशपछि जनता बैंककाे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जानकारी दिएको छ ।
बैंकको सञ्चालक भएका बेला गुरु न्यौपाने संस्थागत सुशासन उल्लंघन गरेर श्रीमती सावित्रादेवी न्यौपाने नाममा ठूलो परिमाणमा भित्री रुपमा सेयर किनेबेच(इन्साइडर ट्रेडिङ) गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले गुरुकी श्रीमती सावित्रीदेवीको नाममा रहेको ८५ हजार १ कित्ता सेयर जफत गर्न निर्देशन दिएको थियो । उक्त सेयर बिक्री गर्दा हालको बजार मूल्यअनुसार २ करोड १९ लाख रुपैयाँ हुन्छ ।
राष्ट्र बैंकको निर्देशनपछि जनताले सावित्रीदेवीको नामबाट सेयर जफत गरी लिलामी प्रक्रिया अघि बढाएको थियो । सेयर लिलामी गर्ने अन्तिम मिति मंगलबारसम्म तोकिएको थियो ।
सेयर खरिदलाई वैध बनाउन गुरुले श्रीमतीसंग गरे नक्कली डिभोर्स
सम्पत्ति जोगाउन मान्छेले केसम्म गर्दोरहेछ भन्ने कुरा गुरुले श्रीमती सावित्रासंग गरेको नक्कली सम्बन्ध विच्छेदले प्रमाणित गरेको छ । गुरुले श्रीमतीसंग नक्कली डिभोर्सको कागजात तयार पारेको बुझिएको छ । अवैध सेयर कारोबारलाई वैध बनाउन गुरुले श्रीमती सावित्रीदेवीसंग सम्बन्ध बिच्छेदको नक्कली कागजात बनाएर सेयर खरिदलाई वैधता दिने घृणित काम समेत गरेको पाईएको छ ।
उनले श्रीमतीसंग सम्बन्ध विच्छेद भएको कागजात बनाएर जफत सेयर फिर्ता गराउने तयारी गरेका छन् । एकघर परिवारले बैंक सञ्चालक भएको अवस्थामा सेयर किन्न नपाउने कानूनी व्यवस्था भएपछि उनले श्रीमतीसंग नक्कली सम्वन्धबिच्छेदको कागजात तयार गरी उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । कानूनी रुपमा तल परेपछि उनीले अन्तिम विकल्पको रुपमा श्रीमतीसंग नक्कली डिभोर्स कागजात तयार पारेका हुन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरीद गर्न नपाउने ब्यवस्था गरेको छ । सोही व्यवस्था विपरित गुरुले श्रीमतीको नाममा सेयर खरिद गरेको प्रमाणीत भएको छ ।