काठमाडौं । के तपाईं मदिरा (रक्सी) पिउनुहुन्छ ? यदि हो भने ख्याल गर्नुहोस् तपाईंले पिउने मदिरा कत्तिको स्वच्छ छ ? पहिले रक्सीको गुणस्तर, प्याकेजिङ र लेबल हेर्नुपर्छ ।

मदिरा आफैमा अस्वस्थ्यकर पेय पदार्थ हो । यद्यपी सरकारले मदिरामा स्वच्छता ल्याउन यसको मापदण्ड तयार पारेको छ । मिसावटयुक्त रक्सी सेवनले उपभोक्ताको स्वास्थ्यमा असर पुर्याउने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड जारी गर्न लागेको हो ।
बजारमा ‘ब्राण्ड’ र ‘लोकल’ भनेर थुप्रै मदिरा कम्पनीहरुले आफ्नो उत्पादन बिकाउन प्रचार गरिरहेका हुन्छन् । मिसावटका कारण रक्सी पिउने मानिस बिरामी हुनथालेपछि यसको मापदण्ड बनाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।
मादण्डको मस्यौदा तयार पारेर विभागले कृषि विकास मन्त्रालय पठाएको उनले जानकारी दिए । उनले भने, ‘सुरुमा यो मापदण्डमाथी सम्बन्धित मन्त्रालयमा छलफल हुन्छ । त्यसपछि यसलाई राजपत्रमा प्रकाशित गर्न सिफारिस गरिन्छ ।’
के छ रक्सीको मापदण्ड ?
मुलभुतरुपमा सबै मदिराका लेबलमा स्वास्थ्यसम्बन्धी कुनै पनि भ्रामक कुरा दाबी गर्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै लेबलमा उत्पादन र उपभोग्य मिती खुलाउन अनिवार्य गरिएको छ ।
मदिरामा इथाइल अल्कोहलको मात्रा ३६ देखि ५० प्रतिशत (आयातनको आधारमा, २० डिग्री सेल्सियस तापक्रममा) सम्म तोकिएको छ । लेबलमा उल्लेख गरिएभन्दा ३ प्रतिशत घटबढमा छुट दिइएको छ । मदिराको उत्पादन तथा कारोबार कोडेक्सले निर्धारण गरेको आचारसंहिताका प्रावधान अनुसार हुनुपर्छ ।
रक्सीको लेबलमा अन्य खाद्यान्न जस्तै उत्पादकको परिचय, दर्ता नम्बर, खूद परिमाण र उपभोग्य मिती अनिवार्य गरिएको छ ।

विभागले मदिरा अन्तर्गत ह्विस्की, रम, ब्राण्डी, भोड्का र जीनलाई राखेको छ । यी विभिन्न प्रकारका मदिराहरुलाई छुट्टाछुट्टै परिधी दिइएको छ ।
ह्विस्की
कुनै पनि अन्न वा स्टार्चजन्य खाद्य पदार्थहरुलाई जीव रासायनिक प्रकृयाबाट किन्वन पछि डिस्टिलेसन गरि ह्विस्की तयार पारिन्छ । यसमा चारित्रिक स्वाद तथा बास्ना हुनुपर्नेछ । म्याचर्ड (परिपक्व) भनि लेखिएको ह्विस्कीलाई कम्तीमा १ वर्षसम्म ओकको भाडा भण्डारण गरिएको हुनुपर्छ ।
ह्विस्कीमा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड लगायत कुनैपनि अन्य किसिमका नशालु साइकोट्रपिक तथा क्याफिन पदार्थहरु बर्जित गरिएको छ ।
रम
उखुको रस/उखुको अन्य उत्पादन, सुगर बिट वा सुगरबिट मोलासिसजन्य खाद्य पदार्थलाई किण्वन गरी डिस्टिलेसन प्रकृयाबाट रम तयार पारिन्छ । मापदण्डमा रम सब जिरो तापक्रमसमेतमा पनि थिग्रो वा कुनै पनि प्रकारका सस्पेन्डेड पदार्थ रहित हुनुपर्ने उल्लेख छ ।
म्याचर्ड (परिपक्व) भनि लेखिएको रमलाई कम्तीमा १ वर्षसम्म काठको भाडा भण्डारण गरिएको हुनुपर्छ । काठको भाडोमा परिपक्व गरिएको रममा काठको स्वभाविक रंग आउनुपर्छ । यसमा केरामेल बाहेक अन्य रंग प्रयोग गर्न पाइनेछैन ।
रममा कुनैपनि थिग्रेको वा तैरेको वस्तु हुनुहुदैन । रममा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड लगायत कुनैपनि अन्य किसिमका नशालु साइकोट्रपिक तथा क्याफिन पदार्थहरु बर्जित गरिएको छ ।
भोड्का
आलु, अन्न, मोलासिस वा किन्वन हुने कार्बोहाइड्रेटजन्य पदार्थलाई किण्वन गरी डिस्टिलेसनमार्फत न्यूट्रल स्पिरिटबाट भोड्का तयार पारिन्छ । यसमा पनि अन्य मदिराझैं क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड लगायत कुनैपनि अन्य किसिमका नशालु साइकोट्रपिक तथा क्याफिन पदार्थहरु प्रतिबन्ध लगाइएको छ ।
ब्राण्डी
अंगुर वा अन्य कुनै फलफुलको किण्वत रसलाई डिस्टिलेसन गरी ब्राण्डी तयार पारिन्छ । ब्राण्डी तीन प्रकारका छन् : अंगुरको ब्राण्डी, फलफुलको ब्राण्डी र ब्लेन्डेड ब्राण्डी ।
यसलाई १ हजार लिटर भन्दा कम क्षमता भएको ओकको भाडामा परिपक्व गरिएको ब्राण्डी कम्तीमा ६ महिना भण्डारण गरिएको अनिवार्य हुनुपर्दछ । यसमा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड लगायत कुनैपनि अन्य किसिमका नशालु साइकोट्रपिक तथा क्याफिन पदार्थहरुको मिसावटलाई प्रतिबन्ध लगाइएको छ ।
जीन
जुनिपर बेरीको वाष्पशील तत्वको स्वाद भएको न्यूट्रल स्प्रिटबाट जीन तयार गरिएको हुन्छ । यो संग्लो हुनुपर्छ र स्वच्छ पानीमा राख्दा धमिला हुनुहुदैन ।
यसमा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड लगायत कुनैपनि अन्य किसिमका नशालु साइकोट्रपिक तथा क्याफिन पदार्थहरुको मिसावटलाई प्रतिबन्ध लगाइएको छ ।