काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले अनलाईन सेयर कारोबार २०७५ साल जेठबाट मात्रै आरम्भ हुने स्पष्ट पारेको छ । नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउँदले मंगलबार पत्रकार सम्मेलन मार्फत २०७५ जेठ अघि अनलाईन सेयर कारोबार सम्भव नभएको स्पष्ट पारेका हुन् ।

‘यो अन्त्यन्तै प्राबिधिक र जटिल काम हो, केहि समय अदालतको मुद्धा मामिलाले पनि अड्कायो, अब २०७५ जेठमा मात्रै अनलाइन सेयर कारोबारको परिक्षण आरम्भ हुन्छ’, साउनले पत्रकार सम्मेलनमा भने । यस अघिका प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले आज अर्थात कात्तिक २१ देखि अनलाइन सेयर कारोबार आरम्भ गर्ने घोषणा गरेका थिए ।
अदालतले मुद्धा टुंगो लगाएपछि नेप्से सञ्चालक समितिले २०७४ साल बैशाख ६ गतेदेखि लागु हुनेगरि १४ महिनाभित्र अनलाइन सेयर कारोबारको सिस्टम उपलब्ध गराउनुपर्ने समझौता वाइसिओ प्रालीसँग गरेको थियो । सो सम्झौता अनुसार भारतीय कम्पनीले आगामी जेठ महिनाभित्रै अनलाइन सेयर कारोबारको प्रणाली उपलब्ध गराउनेछ भने नेप्सेले परिक्षण कारोबार आरम्भ गर्नेछ ।
अनलाइन सेयर कारोबारका लागि नेप्सेले सफ्टवेयर निर्माण कर्ता कम्पनीलाई १६ वटा मोडलको सूचि उपलब्ध तयार पारेको छ । सोमध्ये हालसम्म् ६ वटा मोडलको सूचि दिईसकिएको नेप्सेले जानकारी दिएको छ । बाँकी १० वटा मोडल भने केहि समय भित्रै क्रमशः उपलब्ध गराउँदै जाने र सोही अनुसार सफ्टवेयर निर्मार्ता कम्पनीले तयार पर्ने बताईएको छ । नेप्सेले अनलाइन सेयर कारोबारका लागि आवश्यक पर्ने हार्डवेयर भने प्राप्त गरिसकेको छ ।
नेप्सेले गैर आवासिय नेपालीहरुलाई सेयरमा लगानी गर्ने वातावरण बनाउने, मार्जिन कारोबारका लागि सहजीकरण गर्ने, समयमै साधारण सभा नगर्ने सूचिकृत कम्पनीहरुलाई साधारण सभा गर्न लगाउने लगायतका योजना अघि सारेको छ । त्यस्तै, निर्जिवन बीमा र जीवन बीमा कम्पनीको परिसूचक छुट्याउने योजना बनिरहेको पनि प्रमुख कार्यकारी अधिकृत साउँदले जानकारी दिए । नेप्सेले केहि दिन अघि मात्रै विकास बैंक समुहबाट लघुवित्त कम्पनीहरुलाई अलग गरेर छुट्टै परिसूचक बनाएको थियो ।