काठमाडौं । मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा तीन करोड ३७ लाख ४ हजार ५७३ कित्ता सेयर सूचिकृत भएका छन् । सो दिन विभिन्न बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।
बजारमा ४ कम्पनीको हकप्रद सेयर र एक कम्पनीको बोनस सेयर गरी जम्मा ५ वटा कम्पनीको सेयर सूचिकृत भएका छन् । ती मध्ये रिलायवल माइक्रोफाइनान्स, सेञ्चुरी कमर्शियल बैंक, हाम्रो विकास बैंक र एभरेष्ट बैंकको हकप्रद र मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा थपिएको हो ।
रिलायवल माइक्रोफाइनान्सको २ लाख ८२ हजार ५०० कित्ता र सेञ्चुरी बैंकको एक करोड ७० लाख २४ हजार ३८१ कित्ता हकप्रद बजारमा सेयर कारोबारका लागि थपिएका छन् ।
त्यस्तै, हाम्रो विकास बैंकको ८ लाख ८० हजार ७७० कित्ता र एभरेष्ट बैंकको एक करोड ५० लाख ८८ हजार ०८७ कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएका छन् ।
त्यसैगरी, मिसन डेभलपमेन्ट बैंकको ४ लाख २८ हजार ८३५ कित्ता बोनस सेयर मंगलबार थपिएको हो ।