ब्रोकरमार्फत मार्जिन कर्जा सुविधाः अधिकांश बैंक तथा कम्पनीको सेयर किन्न नपाइने

<p>काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर व्यवसायीमार्फत सेयर धितोमा राखेर (मार्जिन ल्याण्डिङ) सुबिधा दिने निर्णय गरेपनि यसबाट अधिकांश बैंक तथा वित्तीय संस्था र कम्पनीको सेयर खरिद र धितोमा कर्जा नपाइने भएको छ । बोर्डले सोमबार ल्याएको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनबाट अधिकांश बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीको सेयर खरिदका लागि ब्रोकरमार्फत मार्जिन लेन्डिङ नहुने भएको [&hellip;]</p>

काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर व्यवसायीमार्फत सेयर धितोमा राखेर (मार्जिन ल्याण्डिङ) सुबिधा दिने निर्णय गरेपनि यसबाट अधिकांश बैंक तथा वित्तीय संस्था र कम्पनीको सेयर खरिद र धितोमा कर्जा नपाइने भएको छ ।

बोर्डले सोमबार ल्याएको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनबाट अधिकांश बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीको सेयर खरिदका लागि ब्रोकरमार्फत मार्जिन लेन्डिङ नहुने भएको हो । बोर्डले न्युतम १० हजार सेयरधनी, खुदसम्पत्ति (नेटवर्थ) सकरात्मक रही २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश दिने कम्पनीको सेयर खरिदमा मात्र मार्जिन कर्जा पाउने व्यवस्था गरेपछि अधिकांश कम्पनीको सेयर अयोग्य हुन पुगेका हो ।

बैंक तथा वित्तीय संस्थामा सेयर धितोमा राखी लगानीकर्ताले मार्जिन कर्जा लिई रहेका छन् । ब्रोकरमार्फत मार्जिन कर्जा लिन अधिकाँश बैंक तथा वित्तीय संस्था तथा कम्पनीका सेयर संख्या १० हजार नपुगेको खुदसम्पत्ति धनात्मक भई २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश दिएका संस्था कम भएकाले अधिकाँशको सेयर राखेर कर्जा नपाउने अवस्था आएको हो ।

बोर्डले सोमबार सार्वजनिक गरेको मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशनबाट सेन्चुरी कमर्शियल बैंक, मेगा बैंक, सिभिल बैंक, नेपाल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र जनता बैंकलगायत एक दर्जन बढी बैंकको सेयर धितो राखेर ब्रोकरमार्फत मार्जिन कर्जा नपाइने भएको छ ।केही वर्षअघि खुलेका र पुराना भएपछि वित्तीय अवस्था राम्रो नभएका र १० हजार सेयरधनी नपुग्ने कुनै पनि कम्पनीले नपाउने भएका हुन् ।

अधिकाँश विकास बैक र बीमा कम्पनी नपर्ने भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मात्र ब्रोकरमार्फत मार्जिन लेन्डिङ हुने देखिएको छ । यस्तै युनिलिभर नेपाल लिमिटेड र चिलिमे हाइड्रोपावर लिमिटेडको सेयर मात्र पाउने देखिएको छ । लघुवित्तीय संस्थाअन्र्तगत निर्धन उत्थान विकास बैंक र छिमेक विकास बैंकलगायत केहीको सेयर धितो राखेर ब्रोकरमार्फत कर्जा पाउन सकिने देखिएको छ ।

बोर्डको नयाँ व्यवस्थाले अधिकांशक बैंक तथा वित्तीय संस्था, बीमा र जलविद्युत कम्पनीको सेयर किन्न ब्रोकरमार्फत मार्जिन कर्जा नपाउने अवस्था आएको कालिका सेक्युरिटिजका प्रवन्ध निर्देशक नरेन्द्र सिजापति बताउछन् । विकास न्युजसंग कुरा गर्दे उनले भने “यो सुरुवात मात्र हो, बोर्डले ल्याएको व्यवस्था अनुसार केही बैंक, बीमा र राम्रो प्रतिफल दिने कम्पनीको सेयर धितो राखेर मात्र कर्जा पाउने अवस्था छ ।” बोर्डको निर्देशन राम्रो रहेको उनको प्रतिक्रिया छ ।

“पछि बजार परिवक्व हुन थालेपछि बोर्डले सोच्न सक्छ अहिले यो व्यवस्थाबाट अधिकांश कम्पनीको ब्रोकरमार्फत मार्जिन लेन्डिङ हुन सक्दैन्” उनले भने । आर्थिक रुपमा मजवुत कम्पनीलाई मात्र प्राथमिता दिने गरी निर्देशन आउनु सकरात्मक भएको उनको निष्कर्ष छ ।
बैंकले सिधै दिइरहेको मार्जिन लेन्डिङमा फरक नपर्ने तर ब्रोकरबाट लगानीकर्तालाई प्रदान गरिने माजिर्न कर्जामा भएको व्यवस्थालाई मान्दा धेरै कम्पनीको सेयरमा लगानी गर्न नसक्ने देखिएको हो ।

ब्रोकर कम्पनी आफुले लगानी गर्ने नभई जमानी बसेर बैंकमार्फत सेयर कर्जा दिने व्यवस्था हुने उनको भनाई । यसमा नाफा र घाटा दुबै लगानीकर्ताको हुने छ । ब्रोकर कम्पनीको बैंकसंग साझेदारीमा यस्तो कर्जा दिने व्यवस्था हुने छ । मागेको केही घण्टामा कर्जा पाइने उनी बताउछन् ।

 

 

Share News