काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा माछापुच्छ्रे बैंकले खुदनाफा ४ करोड रुपैयाँ बढाएको छ । अधिकाँश बैंकको नाफा घटिरहेका बेला माछापुच्छ्रेको नाफा बढेको छ । चालु आवको ३ महिनामा बैंकले २८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २४ करोड ६९ लाख रुपैयाँ गरेको थियो ।

बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको वित्तीय विरणमा नाफा बढेपनि प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १४ रुपैयाँ ३५ पैसामा सीमित भएको छ । गत असारमा ईपीएस २४ रुपैयाँ थियो । पुँजी बढेपछि बैंकको इीपीएस घटेको हो ।
बैंकको खराब कर्जा ०.४९, पुँजीगत लागत ७.१७, कर्जा निक्षेप अनुपात ७९.५३, आधार ब्याज दर १०.४८ र कर्जा निक्षेपबीचको ब्याज अन्तर ३.९० प्रतिशत रहेको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप करिव २ अर्ब रुपैयाँ बढेर ६० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत असारमा निक्षेप ५८ अर्ब ६२ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि ३ अर्ब रुपैयाँ बढेर ५४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत असारमा कर्जा लगानी ५१ अर्ब ८६ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा १ अर्ब २२ करोड रुपैयाँ छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याएको छ ।