चिनी उद्योगीको बार्गेनिङ : माग पुरा नभए स्थानीय उखु नकिन्ने

<p>काठमाडौं । कृषि विकास मन्त्रालयले चिनीको भन्सार महसुल बढाउन आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको छ । आयातित चिनीमा भन्सार नबढाए उद्योगले किसानको उखु खरिद नगर्ने चेतावनी दिएपछि कृषि विकास मन्त्रालयको सचिवस्तरको निर्णयले आपूर्तिलाई सिफारिस गरेको हो । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले उखु कृषकको हितलाई मध्य नजर गर्दै मन्त्रालयले सोही अनुसार निर्णय गरेको बताए । ’उखुको उत्पादन [&hellip;]</p>

काठमाडौं । कृषि विकास मन्त्रालयले चिनीको भन्सार महसुल बढाउन आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको छ ।

आयातित चिनीमा भन्सार नबढाए उद्योगले किसानको उखु खरिद नगर्ने चेतावनी दिएपछि कृषि विकास मन्त्रालयको सचिवस्तरको निर्णयले आपूर्तिलाई सिफारिस गरेको हो ।

मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले उखु कृषकको हितलाई मध्य नजर गर्दै मन्त्रालयले सोही अनुसार निर्णय गरेको बताए । ’उखुको उत्पादन बढ्दै गइरहेको छ । भोली चिनी उद्योगले उखु खरिद गर्न बन्द गरेपछि किसान नै मर्कामा पर्ने भएकाले यस्तो निर्णय गरेका छौं ।’
चालु आर्थिक वर्षमा नेपालमा उखुको उत्पादन करीब २५ प्रतिशतले बढ्ने मन्त्रालयको अनुमान छ । आयातित चिनी सस्तिएकै कारणले स्थानीय चिनी उद्योगहरुले उखु कृषकहरुबाट चिनी नकिन्ने सम्भावना रहेको कार्कीले बताए ।

आयातित चिनीको भन्सार महसुल पनि ३५ प्रतिशतले बढाउन चिनी उद्योग संघको माग छ । हाल १५ प्रतिशतसम्म रहेको भन्सार महसुललाई बढाएर ५० प्रतिशत पुर्याउनु पर्ने उनीहरुले प्रस्ताव गरेका थिए ।

भन्सार महसुल बढाउँदा स्वभाविकरुपमा चिनीको मूल्य बढ्छ । उद्योगीले सरकारलाई चौतर्फी दवाब दिएर चिनीमा एकाधिकार जमाउन खोजेको कृषि विकासका एक उच्च अधिकारीले बताए । ’अन्तिममा उपभोक्ता वा कृषक नै मारमा पर्ने देखिएको छ,’उनले भने, ’आयातित चिनीमा भन्सार बढाउँदा उपभोक्ता मर्कामा पर्छन, नबढाउँ त कृषकको लगानी डुब्ने खतरा छ ।’

दुई महिनादेखि उद्योगीले भारतबाट उखु ल्याउनका लागि मन्त्रालयलाई दबाव समेत दिइरहेको ती अधिकारीले बताए । उनका अनुसार स्थानीय उत्पादनले नपुग्ने भन्दै भारतबाटै उखु ल्याउन दिन जोडदार माग गरेका थिए । मन्त्रालयको छलफलमा कृषकले उद्योगीलाई आवश्यकताअनुसार प्रशस्त उखु दिने प्रतिबद्धता दिएपछि भारतबाट उखु ल्याउने कुरा सेलाएको थियो ।

’यसमा उद्योगीको ठुलो स्वार्थ लुकेको छ, ’ती अधिकारीले भने, ’१५ दिन अघि मात्र वाणिज्य मन्त्रालयले स्थानीय कृषकको हितलाई मध्य नजर गर्दै भारतबाट उखु ल्याउन नदिने भएपछि उनीहरु आयातित चिनीलाई निषेध गराउन लबिङ गरिरहेको बुझिन्छ ।’

विदेशबाट आयात गरिएको चिनीको मूल्य सस्तो भएको भन्दै आयातित चिनीमा भन्सार महसुल बढाउनूपर्ने माग गर्दै उखु खरिद नगर्ने बताएका थिए । विदेशबाट चिनी आयात रोक्न समेत चिनी उद्योगीले आपूर्ति मन्त्रालयलाई दबाव दिएका थिए ।

साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने चिनी सिमावर्ती क्षेत्र अन्तर्गत वीरगञ्जमा प्रतिकिलो ७९ रुपैयाँ छ भने उपत्यकामा ८२.५ रुपैयाँमा बिक्री गरिरहेको छ । नेपालमा चिनीको लागत नै ७४.०२ रुपैयाँ प्रतिकिलो पर्ने र ९० रुपैयाँसम्ममा बिक्री गरिरहेको छ । अन्तराष्ट्रिय बजारमा चिनी तुलनात्मक रुपमा सस्तो भएकाले आयातित चिनीसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने उनीहरुको भनाई छ ।

अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ ११० रुपैयाँबाट घटेर १०३ पुगेको र चिनीको मूल्य पनि १८० अमेरिकी डलरले घटेको उद्योगीले जानकारी दिएका छन् । मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा चिनीको उत्पादन १ लाख २९ टन चिनी उत्पादन भएको थियो । यद्दपी देशभरको वार्षिक माग साढे दुई लाख टन छ ।

Share News