काठमाडौं । सूचना प्रविधि (आईटी सेक्युरिटी) सुरक्षाको कारण देखाउँदै बाणिज्य बैंकहरुले कर्मचारीलाई कार्यस्थलमा इन्टरनेट प्रयोगमा रोक लगाएका छन् । ह्याकरले स्वीफट ह्याक गरी एनआईसी एसिया बैंकबाट करोडौ रुपैयाँ चोर्ने प्रयास गरेपछि सुरक्षा जोखिम देखाउदै सबै बैंक व्यवस्थापनले कर्मचारीलाई कार्यालयको काम बाहेक अन्य इन्टरनेट सेवा चलाउन नपाउने व्यवस्था गरेका हुन् । कर्मचारीको कामको प्रकृति हेरेर आवश्यकता अनुसार मात्रै इन्टरनेटमा पंहुच दिइएको छ ।
केही बैंकले यसअघि नै कर्मचारीलाई इन्टरनेटको पंहुच बाहिर राखेका थिए । एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि भने अधिकांश बाणिज्य बैंकहरुले कडाई गरेका हुन् । बैंकका कर्मचारीले फेसबुक, ट्विटर, यूट्युव लगायतका सामाजिक सञ्जाल र इमेल तथा गुगल जस्ता सर्च इञ्जिन प्रयोगमा बन्देज गरिएको छ ।
सीमित व्यक्तिलाई मात्र इन्टरनेट सुविधा भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले स्वीकार गरेका छन् । बैंकले काम सकिएपछि रात्रीकालिन समयमा दैनिक १२ घण्टासम्म स्वीफ्ट प्रणाली बन्द (डाउन) गरिरहेका छन् । स्वीफ्ट ह्याकको संभावना रहेको भन्दै यसको प्रणालीलाई राती डाउन गर्न थालिएको हो ।
कर्मचारीलाई कार्यलयको काम बाहेक अन्य काम गर्न इन्टरनेट सुविधा बन्द गरिएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परर्शुराम क्षेत्री बताउँछन् । साइबर ह्याक बढ्दै गएकाले सुरक्षाका लागि इन्टरनेट पंहुच हटाइएको उनको भनाई छ । आवश्यकताअनुसार कार्यालयको काम परेमात्र लिंक दिने गरेको क्षेत्रीले जानकारी दिए । ‘साइबर सेक्युरटीको जोखिम बढेपछि इन्टरनेट प्रयोगमा कडाई र निगरानी गरेका हौं’, जनता बैंकका सिइओ क्षेत्रीले भने ।
माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठले पनि एनआईसी एसियामा ह्याक भएपछि सुरक्षाको कारण कर्मचारीलाई इन्टरनेट पंहुच बन्द गरिएको बताए । सुरक्षाका कारण कर्मचारीलाई कार्यालय प्रयोजन बाहेक अन्य कामका लागि इन्टरनेट चलाउन नसक्ने व्यवस्था गरिएको उनको भनाई छ ।
मेल पठाएर ह्याकरले प्रणालीलाई ह्याक गरी पैसा चोर्नेलगायत जाेखिम देखिएपछि इन्टरनेट सुविधा नदिएको श्रेष्ठ बताए । आवश्यक व्यक्तिले बैंकको सफटवेयर मात्र सञ्चालन गर्न पाउने छन् । उनले बैंक डिजिटल डाटा सुरक्षा जटिल बन्दै गएकाले पंहुचमा कडार्इ गर्नु परेकाे बताए ।
धेरै अघिदेखि कर्मचारीलाई इन्टरनेट सेवा बन्द गरिएको स्ट्याण्डर्ड चाटर्ड बैंकका ब्राण्ड तथा संस्थागत मामिला प्रमुख दीवाकर पौडेल बताए । “हामी ग्लोबल प्रणालीअनुसार सञ्चालन हुने भएकाले सोही अनुसार बैंकिङ सुरक्षा प्रणाली रहेको छ” उनले भने “बैंकमा कुनै पनि कर्मचारीले इन्टरनेट प्रयोग गरेर फेसवुक, ट्विटर, गुगल र इमेल खोल्न सक्दैनन् ।”
ग्लोबल आइएमई बैंकका सीईओ जनक शर्माले पनि बैंकले सुरक्षा प्रणालीलाई अझ मजबुत बनाएको बताए । विकासन्युजसंग कुरा गर्दै उनले आइटी सुरक्षामा बैकले जोड दिएको बताए । एनआईसी एसियाका सीईओ लक्ष्मण रिसाल आईटीको प्रयोग गर्दा यसको जोखिम, डिजिटल डाटाको सुरक्षाको बारेमा होसियार र चनाखो हुनु पर्ने बताउँछन् । ‘अपरिचित इमेल नखोल्न, आए त्यसलाई डिलेट गर्न, बारम्बार यस्ता इमेल आएमा आइटी शाखालाई जानकारी गराउन कर्मचारीसलाई निर्देशन दिएका छौं’, रिसालले भने ।
राष्ट्र बैंकले बैंकलाई आईटी सुरक्षाको तालिम दिने
आइटी प्रणालीको सुरक्षा कमजोर भएको भन्दै नियामक नेपाल राष्ट्र बैंकले आइटी सुरक्षाको जानकारी गराउने भएको छ । साइबरमाथिको जोखिम बढ्दै गएपछि राष्ट्र बैंकले आइटी विज्ञलाइ ल्याएर सुरक्षाको बारेमा जानकारी गराउन लागेको हो । यसका लागि राष्ट्र बैंकले काम थालेको प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । एक महिनाभित्र बैंकका आइटी अधिकारीलाई तालिम दिने उनले जानकारी दिए । राष्ट्र बैंकले आइटीको विषयमा पहिला नै निर्देशिका ल्याइसकेको उनले बताए ।