काठमाडौं । २८ वटा बाणिज्य बैंकहरु यतिबेला ४५ करोड २५ लाख रुपैंया खर्च गर्ने योजना बनाउन तल्लिन छन् । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७४ मार्फत नाफाको न्यूनतम एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोष मार्फत खर्च गर्नुपर्ने व्यवस्था ल्याएपछि बैंकहरु योजना निर्माणमा जुटेका हुन्।
कुन बैंकले कति खर्च गर्दैछन्?
गत आर्थिक बर्षमा २८ वटा बाणिज्य बैंकहरुले ४५ अर्ब २५ करोड नाफा कमाएका थिए । सो नाफाको एक प्रतिशत वापत हुने ४५ करोड २५ लाख रुपैंयाँ संस्थागत सामाजिक दायित्वको क्षेत्रमा खर्च गर्नुपर्नेछ ।
एकिकृत निर्देशिकामा बैंक तथा वित्तिय संस्थाले आफ्नो कुल मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायीत्व कोष खडा गरि वार्षिक रुपमा खर्च गर्नुपर्ने र सो को विवरण नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । ‘बैंकले यस अघि पनि संस्थागत सामाजिक उत्तरदायित्वका लागि काम गरेका थिए, तर त्यो एक प्रतिशत बराबरको रकम थिएन, अब भने न्यूनतम एक प्रतिशत अनिवार्य भएको छ’, बैंकर्स एसोसियसनका अध्यक्ष अनिल शाहले भने ।
राष्ट्र बैंकले सामाजिक परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक सम्वद्र्धन, दुर्गम क्षेत्रमा पुर्वाधार सुधार, पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, वित्तिय साक्षरता, ग्राहक संरक्षण लगायतका काममा बिशिष्टकृत संस्थाहरुबाट सार्वजनिक सूचना मार्फत प्रस्ताव माग गरेर काम गर्नुपर्ने उल्लेख छ ।
प्रत्यक्ष अनुदान खर्चका लागि अति विपन्न वर्गको शिक्षा तथा स्वास्थ्यमा हुने खर्च व्यहोरीदिने गरि हुने प्रत्यक्ष अनुदान वा त्यस्ता काममा क्रियाशिल संघ संस्थाहरुको भौतिक संरचना निर्माणमा उपलब्ध गराउन सकिने व्यवस्था छ ।
त्यस्तै, दिगो विकास लक्ष्य(२०१६–३०) ले पहिचान गरेका १७ वटा क्षेत्रमा तोकिएको लक्ष्यहरुको प्राप्तिमा सहयोग गर्न सकिनेछ भने बैंक तथा वित्तिय संस्थाले आफ्नो संस्थामा क्रियाशिल कर्मचारीका सन्तानहरुका लागि बाल हेरचार केन्द्र व्यवस्थापन गर्न पनि सक्नेछन् ।
‘नाफा कमाउने कम्पनीहरुले सामाजिक उत्तरदायित्वका लागि पनि आफ्नो आम्दानीको न्युनतम एक प्रतिशत खर्च गर्नुपर्छ भनेर अनिवार्य व्यवस्था ल्याएका हौं’, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने ।
उनले बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्व कोषमा रकम जम्मा गरेर कार्यान्वयनको योजना बनाईरहेको र खर्चको विवरण आर्थिक बर्षको अन्तिममा बुझाउने स्पष्ट पारे ।
बैंकर्स संघका अध्यक्ष शाहले बैंकहरुले कर्मचारीहरुको सलंग्नतामा फाउण्डेसनहरु बनाएर धमाधम खर्च गर्ने अभियान चलाईसकेको दावी पनि गरे ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि सामाजिक उत्तरदायित्व कोषको रकम खर्च गर्ने योजना बनाईरहेको बताए । ‘हामीले यस अघि ७०÷७५ लाख रुपैंयाँ सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएका थियौं, अब एक करोड २५ लाख जति पुग्ने अवस्था छ, हामी धमाधम कार्यक्रम बनाईरहेका छौं’, दाहालले भने ।