काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं १ का उम्मेद्वार डा. रामशरण महतले बर्षौं लगाएर स्थापित गरिएका जनताका अधिकार रक्षा गर्ने बाम गठबन्धन प्रमुख खतरा भएको दावी गरेका छन् ।
सुन्दरादेवी नुवाकोट–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको आसन्न चुनावसम्वन्धी कार्यक्रममा बोल्दै उनले सो खतरा औल्याएका हुन् । “एमाले तथा माओवादी संसदबाद, बहुलवाद, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायालय, मानव अधिकार, उदार आर्थिक जस्ता कांग्रेसका आर्थिक तथा राजनीतिक एजेण्डामा लगभग आइसकेका छन भनेको त फेरि उनीहरु कम्युनिष्टको नाममा गठबन्धन गरिरहेका छन र यो लोकतन्त्रका लागि ठूलो खतरा हो” उनले भने ।
जनतालाई यी अधिकार दिलाउन कांग्रेसले ठूलो त्याग र बलिदान गरेको उल्लेख गर्दै उनले यी अधिकारहरु कुण्ठित गर्ने कुनै पनि गतिविधिहरु कांग्रेसलाई असह्य हुने बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन गरेलगत्तै आगामी १० बर्षभित्रमा साम्यबाद ल्याउने उद्घोष गरेको प्रसंग उल्लेख गर्दै उनले भने, “जनताको अधिकार कुनै हालतमा खोस्न पाइदैन । संसारबाट लोप भैसकेको कम्युनिष्ट शासन व्यवस्था नेपालमा कसैले स्वाकार्य छैन । जनताले कम्युनिष्ट शासन व्यवस्था ल्याउनेमा मत दिदैनन् ।”
डा महतले २०४८ सालमा कांग्रेस सरकारले शुरु गरेका उदार आर्थिक नीतिका कारण अर्थतन्त्रको आधुनिकीकरण भएको र माओवादी हिंसा र राजनीतिक अस्थिरताका बीच उल्लेखनीय उपलब्धिहरु हासिल भएको बताए । “सामन्तवादी संरचनालाई रुपान्तरण गरी आधुनिक अर्थतन्त्रको जग हामीले नै हालेका हौं” उनले भने “हिजोको कुन अवस्थाबाट हामी यस अवस्थामा आएका हौ भन्ने बुझ्न जरुरी छ ।”
०४८ सालमा वार्षिक १२ अर्ब रुपैयाँको राजस्व रहेकोमा अहिले ७ सय अर्बभन्दा बढी उठ्न थालेको छ र यही रकमलाई गाउँको विकासमा खर्च गर्ने गरिएको उनले बताए । ०४८ सालमा ७ हजार किमी सडक रहेकोमा अहिले सबै किसिमका सडकहरुको हिसाव गर्दा ८० हजारभन्दा बढी मोटरबाटो बनिसकेको उनको भनाई थियो । जनताको औषत आयु ५४ बर्षबाट बढेर ७१ बर्ष पुगेको छ । यो सबै कांग्रेसकै नीतिका कारण संभव महतको दावी थियो ।