मधेशका छोरा, पहाडका ज्वाई

<p>काठमाडौं । ‘म मधेशको छोरा हुँ, पहाडको ज्वाई हुँ, सारमा म सच्चा नेपाली हुँ’, यो भनाई हो रौतहटको क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा(एमाले)का वैकल्पिक पोलिटब्युरो सदस्य डा. बंशिधर मिश्रको । उनले आफुलाई मधेशको छोरो र पहाडको ज्वाई दावी गर्नुको पछाडी बिशेष कारण छ, मिश्र मधेशकै छोरा हुन र पहाडका ज्वाई [&hellip;]</p>

काठमाडौं । ‘म मधेशको छोरा हुँ, पहाडको ज्वाई हुँ, सारमा म सच्चा नेपाली हुँ’, यो भनाई हो रौतहटको क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा(एमाले)का वैकल्पिक पोलिटब्युरो सदस्य डा. बंशिधर मिश्रको । उनले आफुलाई मधेशको छोरो र पहाडको ज्वाई दावी गर्नुको पछाडी बिशेष कारण छ, मिश्र मधेशकै छोरा हुन र पहाडका ज्वाई नै हुन । अर्थात उनले पहाडकी छोरी दुर्गा खड्कासँग २०४४ साल फागुन २९ मै लगन गाँठो कसे । उतिबेलै पहाड र मधेश जोड्ने सेतुका रुपमा वैवाहिक जीवन आरम्भ गरेका मिश्र यतिबेला फेरी मधेश र पहाड जोड्न तम्सिएका छन् ।

‘म मधेश र पहाडलाई जोड्न रौतहट क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेको हुँ, मैले सच्चा राष्ट्रवाद र समृद्धिको रेखा कोर्ने कसम खाएको छु’, डा. मिश्रले सुनाए । उनी यतिबेला रौतहट क्षेत्र नम्बर ४ मा पर्ने गाउँ र बस्तीहरुमा चुनावी अभियानसहित भेटघाटमा छन् । पेशाले चिकित्सक रहेको डा. मिश्रलाई रौतहट क्षेत्र नम्बर ४ का नागरिकले २०४८ सालमै एक पटक सांसद निर्वाचित गरिसकेका थिए । २०५६ सालमा भने उनी तत्कालिन क्षेत्र नम्बर ३ बाट निर्वाचत भएका थिए ।

२०६१ सालमा स्वास्थ्य राज्यमन्त्री भएका मिश्रसँग शासन प्रशासनको पनि राम्रो ज्ञान छ ।‘रौतहटका नागरिकसँग मेरो नङ र मासु जस्तै सम्बन्ध छ, दुई पटक प्रत्यक्ष र एक पटक समानुपातिक प्रणालीबाट जनप्रतिनिधी बनेको छु, राज्य मन्त्री भएर शासन प्रशासनको ज्ञान पनि लिएको छु, यहि शिप र कौशलले रौतहटको माटोलाई सिञ्चत गर्ने योजना छ’, डा. मिश्रले सुनाए ।

पहाडी र मधेशी समुदायको मिश्रित बसोबास रहेको रौतहट क्षेत्र नम्बर ४ मा उनले आफु सिंगो नेपालको प्रतिनिधीका रुपमा चुनावी मैदानमा उत्रिएको बताईरहेका छन् । रौतहटका सैयौं युवालई रोजगारी दिलाएको, केन्द्रियस्तरमा सहज पहुँच भएको र विकास निर्माणका ठुला योजनाका लागि लबिङ गर्न सक्ने क्षमताकै कारण मिश्रको जित सहज रहेको सो क्षेत्रका एमाले कार्यकर्ताहरु बताउँछन् ।

रौतहटबाट उपचारका लागि काठमाडौं आइपुग्ने हरेक नागरिकलाई भेटेर सहयोग गर्ने बानीका कारण पनि उनलाई रौतहटबासीबिच लोकप्रिय बनाएको छ ।
उनले मधेश र पहाडी मुलका सबै नागरिकको मत पाउने दावी समेत गरे । उनी भन्छन–म दुई समुदाय जोड्ने सेतु हुँ, पहाड र मधेशको अन्योन्याश्रित सम्बन्धले नै देशको विकास सम्भव छ ।’

Share News