काठमाडौं ।
–माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२ कित्ता हकप्रद सेयर कात्तिक ५ देखि १३ गतेको बिचमा लिलामी गर्यो ।
-एभरेष्ट बैंकले बिक्रि नभएको ३५ हजार ८४१ कित्ता हकप्रद सेयर गत असोज २० देखि २७ गतेसम्म लिलामी गर्यो ।
-सिद्धार्थ बैंकले भदौ ६ देखि १४ गतेको अवधीमा आफ्नो २ लाख ५३ हजार ९ सय २२ कित्ता हकप्रद सेयर लिलामी गर्यो ।
-नेपाल एसबिआई बैंकले साउन ९ देखि १६ गतेसम्म ४ लाख ६९ हजार ५२ कित्ता सेयर लिलामी गर्यो ।
लगानी कर्ताले एक सय रुपैंयाँमा किन्न पाउने सेयर यी बैंकहरुले न्युनतम एक सय रुपैंयामा शिलबन्दी गरेर बेचे । यसरी बेचिएको सेयरको प्रति सेयर एक सय रुपैंयाँ कम्पनीको चुक्ता पुँजीमा गणना गरिन्छ भने बाँकी रकम जगेडा कोषमा राखिन्छ ।
एक सय रुपैंयाँमा पाइने यी सेयर किन बिकेनन् र महंगो मूल्यमा लिलामीमा किन किनियो ? सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिइओ) देवप्रकाश गुप्ता भन्छन–‘लगानी कर्तासम्म पर्याप्त सूचना पुगेको छैन, त्यसैले एक सय रुपैंयाँमा सेयर बिक्रि भैरहेको छैन र कम्पनीहरुले धमाधम लिलामीमा बेचिरहेका छन ।’
उनले हकप्रद सेयर भर्नुपर्ने लगानी कर्ताहरुसम्म सूचना नपुगेको र सेयर भर्न लामो समय लाइनमा बस्नुपर्ने तथा उपत्यका बाहिरसम्म सेयर भर्ने व्यवस्था नभएकाले हकप्रद सेयर नबिकेको बताए ।
उता, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने लगानी कर्तालाई पर्याप्त मात्रामा सूचना दिएको तर पहुँच नबढेकाले हकप्रद सेयर लिलामीसम्म पुगेको दावी गरे । सूचिकृत कम्पनीहरुले लगानी कर्तासम्म पर्याप्त मात्रामा सूचना पठाईरहेका छैनन । धितोपत्र बोर्डले केहिदिन अघि मात्रै उपत्यका बाहिरबाट पनि हकप्रद सेयर भर्न पाउने व्यवस्था अघि सारेको छ ।
सूचना नदिने सूचिकृत कम्पनी र उपत्यका बाहिर पहुँच विस्तार नगर्ने धितोपत्र बोर्डका कारण नै हकप्रद सेयरको लिलामीबाट करोडौं कुम्ल्याउने अवसर कम्पनीहरुले पाईरहेका छन् ।
सूचनाको पहुँच बढाउने बोर्डको योजनाले खासै काम गरेन
धितोपत्र बोर्डले २०७३ बैशाख २१ गते सबै सूचिकृत कम्पनीहरुलाई हकप्रद्य सेयर निष्काशनको सूचना प्रभावकारी ढंगले सम्प्रेषण गर्न निर्देशन दिएको थियो । बोर्डले हक प्रद सेयरको सूचना राष्ट्रियस्तरका दैनिक पत्रिका, आर्थिक समाचार मात्रै प्रकाशित गरिरहेका दैनिक पत्रिका, अनलाइन संचार माध्यम र एफएम रेडियोहरुबाट पनि प्रचार प्रसार गर्न भनेको थियो ।
बोर्डले निष्काशन खुल्ला भएको पहिलो हप्तामा कम्तिमा २ वटा प्रमुख राष्ट्रिय स्तरको पत्रिकामा, निष्काशन खुल्ला भएका दोस्रो हप्तामा कम्तिमा १ वटा प्रमुख राष्ट्रिय आर्थिक पत्रिकामा, निष्काशन खुल्ला भएका तेस्रो हप्तामा कम्तिमा २ वटा प्रमुख अनलाईन पत्रिकामा र निष्काशन खुल्ला भएका चौथो हप्तामा कम्तिमा २ वटा प्रमुख एफएम रेडियोमा सुचना दिनुपर्ने भनेको थियो ।