काठमाडौं । विद्युतिय सवारी साधन चलाउनेहरुका लागि खुसीको खबर छ । आफ्नो सवारी साधनलाई घरमै चार्ज गरेर गुडाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतिय सवारी साधनका लागि हाइ भोल्टेज चार्जिङ स्टेशन बनाइ सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले परीक्षणको रुपमा बिजुलीबाट चल्ने गाडीको ब्याट्रीलाई चार्ज गर्न केन्द्रीय कार्यलय रत्नपार्कमा सःशुल्क चार्जिङ स्टेशन बनाएको छ । मिटर समेत जडान गरेर ४० किलोवाट क्षमताको उच्च गतिको चार्जिङ स्टेसन जडान गरेको छ ।
एउटा गाडीको ब्याट्री चार्ज हुन ४५ मिनेटको समय लाग्ने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । बिजुली खपतका आधारमा चार्जिङ शुल्क तिर्नुपर्ने उनले बताए ।
विद्युतीय सवारीसाधनको प्रयोग बढाउन र पेट्रोलियम निर्भरता कम गर्न प्राधिकरणले हाइ भोल्टेज चार्जिङ स्टेशन बनाउन लागेको छ । यसका लागि प्राधिकरणले चार्जिङ स्टेशन निर्माण नीतिको मस्यौदा तयार पारिरहेको छ । प्राधिकरणले पहिलो चरणमा आफैले विद्युतीय सवारीसाधन खरिद गरेर प्रयोगमा ल्याउने तयारी गरेको छ ।
विद्युतीय सवारीसाधनको प्रयोग युरोप र अमेरिकामा धेरै वर्षदेखि सुरु भएको हो । भारतले आगामी सन् २०३५ सम्म विद्युतीय परिवहनमा जान लागेको छ । काठमाडौं उपत्यका लागायत विराटनगर, पोखरा, भैरहवा, नेपालगन्जलगायत प्रमुख शहरमा विद्युतीय परिवहनका लागि चार्जिङ स्टेशन निर्माण गर्ने सोँच बनाएको हो ।
वातावरणमैत्री भएकाले यसको आवश्यकता बढ्दै गएको उनको भनाई छ । युरोपका अधिकाँश मुलुकले आगामी सन् २०३० पछि पेट्रोलियमबाट चल्ने सवारीसाधनलाई विस्थापन गरी विद्युतीयमा जाने तयारी थालेका छन् । यो सवारीसाधन वातावरणमैत्री भएकाले प्राधिकरणले गृहकार्य अघि बढाएको हो ।