काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडकको जग्गा अधिग्रहण सम्बन्धी फाइल तयार भएको छ । शहरी विकास मन्त्रालयले बाहिरी चक्रपथको जग्गा अधिग्रहणको प्रस्ताव तयार पारेर सोमबारको मन्त्रिपरिषद बैठकमा पेश गर्ने तयारी गरेको हो । ‘बाहिरी चक्रपथको जग्गा अधिग्रहण सम्बन्धी प्रस्ताव तयार भएको छ, अब सोमबारको मन्त्रिपरिषदमा लैजाने तयारी छ’, शहरी विकास मन्त्रालयका अधिकृत ध्रुव प्रसाद सापकोटाले विकासन्युजसँग भने ।

कसरी जग्गा अधिग्रहण गर्ने, जग्गा एकिकरण कसरी गर्ने र नागरिकमा हस्तान्तरण कसरी गर्ने तथा बाटो निर्माणको योजना सो प्रस्तावमा समेटिएको छ ।
‘कति समयमा के काम गर्ने भन्नेबारे मन्त्रीज्युबाट विस्तृत कार्ययोजना माग भएको थियो, सोही अनुसार हामीले २ बर्षभित्रै के के काम गर्ने भन्नेबारे योजना पेश गरेका थियौं, सोही अनुसार मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ’, आयोजनाका अधिकृत समेत रहेका सापकोटाले भने । आयोजनाले भदौ १५ गते विस्तृत कार्ययोजना मन्त्रालयलाई बुझाएको थियो ।
के छ कार्य योजनामा ?
कार्ययोजना प्रस्ताव अनुसार जग्गा प्राप्तिको सूचना प्रकाशित गरेको ४५ दिनभित्रै उपभोक्ता समितिहरु गठन गरिसकेर शहरी विकास मन्त्रीद्धारा आयोजनाको उद्घाटन गराइनेछ । त्यस्तै चालु आवको असार मसान्तभित्र ६.६१८ को ट्रयाक खोलिसक्ने, ५० मिटर चौडाईको सडकमा दाँया बाँया वाल लगाईसक्ने योजनामा उल्लेख छ ।
चालु आव भित्रै गोकर्ण क्षेत्रको ६ दशमलब ६ किलोमिटरको बाँकी डिपिआर तयार पार्नुका साथै तयार भैसकेको डिपिआरलाई अद्यावधिक गरेर स्वीतृक समेत गरिसक्ने आयोजना अधिकृत सापकोटाले बताए । आगामी २ बर्षभित्रै अधिग्रहण गरिएको जमिन नागरिकलाई फिर्ता गराईसक्ने लक्ष्यसहितको कार्ययोजना तयार भएको छ ।
कति पर्छ लागत ?
६ अर्ब ५० करोड लागतमा आयोजनाले पाइलट प्रोजेक्ट अन्तर्गत चोभार–सतुंगल खण्डको निर्माण आरम्भ गर्न लागेको हो । सो खण्डमा ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गरिनेछ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । गत बैशाख १३ गते सो खण्डको डिपिआर स्विकृत भएको थियो । सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ ।
नयाँ दरबार मार्ग ?
काठमाडौंमा दरबारमार्गलाई सबै भन्दा सुबिधा सम्पन्न शहरी पुर्वाधार भएको क्षेत्र मानिन्छ । सडक तथा अन्य भौतिक पुर्वाधारका कारण दरबारमार्गको छुट्टै पहिचान छ । तर बाहिरी चक्रपथले नयाँ दरबारमार्गका रुपमा मान्यता पाउने बताइन्छ । फराकिला सडक, व्यवस्थित भवन, खेल मैदान, मनोरञ्जनस्थल, पार्किङ र हरियालीका कारण बाहिरी चक्रपथले दरबारमार्गको स्थान ओगट्न सक्ने सापकोटाले बताए । बाहिरी चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ ।
८० घर भत्काइने
सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिइनेछ ।