काठमाडौं । स्थानीय निर्वाचनको सफलता तथा संघ र प्रदेशको निर्वाचन सम्मुखमै आइपुग्दा केहि बैंकहरु भने नाफा बढाउन असफल भएका छन् । निर्वाचनले अर्थतन्त्रलाई चलायमान बनाउने र बैंकहरुको पनि बजार बढ्ने बताइँदै आएका बेला लगानीकर्तालाई निराश पार्ने गरी बैंकको नाफा घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गरेका आधा दर्जन बैंक मध्ये ३ वटाको नाफा घटेको छ भने ३ वटाको बढेको छ । हिमालयन बैंक, मेगा बैंक र सिटिजन्स बैंकले पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाउन सकेनन् ।
नविल बैंक, प्राइम कमर्शियल बैंक, एनएमबी बैंक र सानिमा बैंकको नाफा बढेपनि सन्तोषजनक छैन् । यसबाट चालु आर्थिक वर्षमा बैंकको नाफा धेरै नबढ्ने देखिएको छ । ‘गत बर्ष ६ महिनासम्म झेलिएको तरलता अभावले ब्याजदर १३ प्रतिशतसम्म पुगेको थियो, अहिले त्यसकै परिणाम भोगिँदैछ’, बैंकर्स संघका अध्यक्ष समेत रहेका मेगा बैंकका सिइओ अनिल शाहले भने ।
शाहले नेतृत्व गरेको मेगा बैंकको नाफा घटेर ८ करोड ११ लाख रुपैयाँमा खुम्चिएको छ । मेगा बैंकले गत आवको पहिलो त्रैमासिकमा १४ करोड रुपैयाँ ६९ रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा घटेपछि प्रतिसेयर आम्दानी १७.२७ बाट घटेर १.७७ प्रतिशतमा खुम्चिएको छ ।
त्यस्तै, सिटिजन्स बैंकको नाफा पनि ३४ करोड ५१ लाखबाट खुम्चिएर ३१ करोडमा झरेको छ । ३ महिनामा सिटिजनले ३ करोड रुपैयाँ नाफा घटेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । नाफा घटेपछि सिटिजन्सको प्रतिसेयर आम्दानीमा गिरावट आएर १५ रुपैयाँ ९० पैसामा झरेको छ ।
हिमालयन बैंकको पनि नाफा ३ करोड रुपैयाँ घटेको छ । बैंकले गत आवको पहिलो त्रैमासिकमा ४३ करोड ८४ लाख नाफा कमाएको थियो तर चालु आवको सोही अवधीमा जम्मा ४१ करोड मात्रै नाफा कमाउन सफल भएको देखिन्छ ।
आखिर किन घट्यो त बैंकको नाफा ? बैंकर्स संघको अध्यक्ष शाह भन्छन–‘तरला अभाव भएको ६ महिनाको ब्याजदर, दशैं तिहारमा ऋण असुलीमा ढिलाईले पहिलो त्रैमासिकमा नाफा घट्यो ।’ उनले त्रैमासिक सकिएको १५ दिन भित्रै वित्तिय विवरण बुझाउनुपर्ने बाध्यात्मक कारणले पनि नाफा कम देखिएको दावी गरे । ‘राष्ट्र बैंकले १५ दिनभित्र वित्तिय विवरण बुझाउन भनेको छ, त्यसले १६ औं दिन हुने आम्दानीलाई समेट्न सकिएन, त्यसैले पनि नाफा थोरै देखिएको हो’, शाहले भने ।
उनका अनुसार बैंकहरुले पुँजी वृद्धिकै मात्रामा बजार बढाउन लगानीका नयाँ स्रोतहहरुको व्यापक खोजी गरिरहेका छन् । २ सय वटा स्थानीय तहमा शाखा विस्तारसँगै गाउँ गाउँमा वित्तिय पहुँच पुगेको र त्यसले नयाँ बजार पाएसँगै दोश्रो त्रैमासिकमा बैंकहरुको नाफामा उल्लेख्य वृद्धि हुने दावी पनि उनले गरे । आसन्न निर्वाचनपछि स्थानीय, प्रदेश र केन्द्र सरकारले गर्ने विकास खर्चले बैंकहरुको नाफा बढाउन ठुलो योगदान दिने आशा पनि उनले व्यक्त गरे ।
उता, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले एकाध कम्पनीहरुलाई आधार मानेर बैंकहरुको नाफा घटेका भन्न नमिल्ने बताए । ‘कुनै बैंकले पहिलो त्रैमासिकमै झण्डै एक अर्ब कमाएका पनि छन, केहि बैंकले भने नाफा घटाएको देखिन्छ’, सहायक प्रवक्ता पण्डितले भने । उनले कम्पनीहरुलाई छुट्टा छुट्टै अध्ययन गरेपछि मात्रै कुनै बैंकको नाफा किन ह्वात्तै बढेको र कुनैको घटेको बारे भन्न सकिने स्पष्ट पारे ।
सानिमा बैंकका सिइओ भुवन दाहालले पनि बैंकहरुका लागि सुनौला दिन सकिएको बताउँदै आएका छन् । उनले पुँजी वृद्धिको तुलनामा बजार र नाफा बढाउन निकै चुनौती बढ्दै गएको बताए । उनी नेतृत्वको बैंक सानिमाले ३ महिनामा ७ करोड रुपैयाँ नाफा बढाएपनि प्रतिसेयर आम्दानी भने घटेको छ ।