काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता गरेको छ । बिहिबार बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य वृद्धिको निर्णय फिर्ता गरेको निगमका प्रवक्ता बिरेन्द्र गोइतले विकासन्युजलाई जानकारी दिए ।’ बिहान १० बजेबाटै मूल्य वृद्धिको निर्णय फिर्ता भएर पुरानै मूल्य काम गर्ने निर्णय निगम सञ्चालक समितिले गरेको छ’, निगमका प्रवक्ता गोइतले भने ।
बुधबार साँझ मात्रै निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि मूल्य बढाउने निर्णयबाट निगम पछि हटेको हो ।
निगमले बुधबार पेट्रोलमा प्रतिलिटर २ रुपैया मूल्य बढाएको थियो । डिजेलमा एक रुपैयाँ ५० पैसा बढाएर प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुर्याएको थियो । त्यस्तै, खाना पकाउने ग्यासको भाउ २५ रुपैंयाँ बढाएर प्रतिसिलिन्डर १ हजार ३५० रुपैयाँ पुर्याएको थियो ।
निर्वाचनका मुखमा मूल्य वृद्धि जस्तो अलोकप्रिय निर्णय गर्न नहुने भन्दै प्रधानमन्त्री देउवाले निगम सञ्चालक समितिलाई तत्काल मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि नै बिहिबार बिहान बसेको निगम सञ्चालक समितिले मूल्य वृद्धिको निर्णय फिर्ता गरेको हो ।