काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा हिमालयन बैंकको नाफा झण्डै ३ करोड रुपैयाँ घटेको छ । चालु आवको ३ महिनामा बैंकले ४१ करोड रुपैयाँ मात्र खुदनाफा गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले ४३ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको ३ महिनाको वित्तीय विवरणमा सुचकहरु सन्तोषजनक नभएको पाइएको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात बढेर १.२४ प्रतिशत पुगेको छ । गत असारमा बैंकको यस्तो कर्जा ०.८७ प्रतिशत मात्र थियो । बैंकको पुँजीगत लागत पनि दोब्बर बढेर ६.५९ प्रतिशत पुगेको छ । गत असारमा यस्तो अनुपात ३.९९ प्रतिशत थियो ।
यस्तै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.७४प्रतिशत छ । बैंक अब थप कर्जा लगानी गर्न सक्ने अवस्थामा देखिन्दैन् । यस्तै आधार दर पनि ९.४५ प्रतिशत छ । गत असारमा यस्तो दर ९.५७ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी घटेर २५ रुपैयाँ २७ पैसामा सीमित भएको छ । गत असारमा यस्तो आम्दानी ३३ रुपैयाँ ५३ पैसा थियो । समीक्षा अवधिमा बैंकको कुल संचिती बढेर ५ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
यस्तै बैकले निक्षेप बढाएर ९६ अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ । गत असारमा ९२ करोड ८८ लाख रुपैयाँ थियो । ३ महिनामा बैंकले निक्षेप ३ अर्ब रुपैयाँ बढाएको छ । कर्जा लगानी पनि विस्तार भएर ८० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको ७७ अर्ब ६५ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि ३ अर्ब रुपैयाँ बढेको बैंकले जनाएको छ । बैंकको चुक्तपुँजी ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
