
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले इन्धनको भाउ बढाएको छ । निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको भाउ बढाएको हो । समायोजन गरिएको नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १ सय रुपैयाँ पुगेको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैया मूल्य बढाएको छ । खाना पकाउने ग्यासको भाउ पनि बढको छ । ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर १ हजार ३५० रुपैयाँ पुगेको छ ।
ग्यासमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको छ । डिजेल प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुगेको छ । डिजेलमा एक रुपैयाँ ५० पैसा बढेको छ ।मूल्य समायोजनबाट निगमलाई पाक्षिक १ करोड ९७ लाख नाफा हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
इन्यिन आयल कर्पोरेसन लिमिटेड (आइओसी)ले पठाएको नयाँ मूल्यअनुसार भाउ वृद्धि भएको गोइतले बताए । आइओसीले अंग्रेजी महिनाअनुसार एक र १६ तारिकमा नयाँ मूल्य सूची पठाउँछ । नयाँ मूल्य राती १२ बजेदेखि लागु हुने छ । नयाँ मूल्यअनुसार पेट्रोलमा लिटरमा ५.५० पैसा र मटितेलमा १६ रुपैयाँ २ पैसा नाफा छ । डिजेलमा ७५ पैसा र ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ घाटा रहेको गोइतले जानकारी दिए ।