काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपनि बैंकको ब्याज दर भने घटेको छैन् । बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंक साउनयता विभिन्न उपकरणमार्फत पटकपटक गरी १ खर्ब २० अर्ब रुपैयाँ बढी रकम प्रशोचन गरेको छ ।

बजारमा पर्याप्त तरलता भएपनि अधिकाँश बैंकको आधार ब्याज दर भने १० प्रतिशत भन्दा बढीनै छ । केही बैंकको झण्डै १२ प्रतिशत हारहारीमा आधार दर रहेको छ । १० प्रतिशत आधार दर भएको बैंकले ४ प्रतिशत स्प्रेड दर राख्दा कर्जाको ब्याज दर १४ प्रतिशत पुग्छ । कर्जाको ब्याज दर अझै महंगो नै छ ।
बुधबारमात्र केन्द्रीय बैंकले निक्षेप उपकरणमार्फत थप ३ अर्ब रुपैयाँ बजारबाट उठाएको छ । राष्ट्र बैंकले निक्षेप बोलकबोल र रिभर्स रिपो उपकरणमार्फत बैंकिङ प्रणालीमा भएको तरलता उठाउदै आएको छ । बजारमा अझै ४३ अर्ब रुपैयाँ तरलता रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्ने मध्य अधिकाँशको आधार दर १० प्रतिशत बढी देखिएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये सबैभन्दा बढी जनता बैंकको छ ।
जनताको आधार दर साढे ११ प्रतिशत छ । यस्तै सिटिजन बैंकको १०.७७, सानिमाको १०.२७, माछापुच्छ्रेको १०, नेपाल इन्भेष्टमेन्ट बैंकको ८.९१ प्रतिशत रहेको छ । यस्तै एभरेष्ट बैंकको ७.९१, नविल बैंकको ६.६९ र सबैभन्दा कम सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ । वाणिज्यको आधारदर ५.९८ प्रतिशत छ । कर्जाको ब्याज दर वाणिज्य बैंकमा सस्तो पाइन्छ ।
गत वर्ष दोस्रो त्रैमाशदेखि लगानीयोग्य पुँजीको अभावले गर्दा वित्तीय घर्षण बढेर बजारमा समस्या आएको थियो । लगानी गर्ने पुँजी नभएपछि बैंकले महंगो ब्याज दरमा ठुलो परिमाणमा निक्षेप उठाएका थिए ।निक्षेपको ब्याजदर बढेपछि आधार दर पनि बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको भनाई छ । सस्तोमा निक्षेप नपाएसम्म लागत बढ्ने उनीहरुको तर्क छ । हाल बचतको ब्याजदर औसत ८ प्रतिशत रहेको सीईओहरुको भनाई छ ।
गतवर्ष कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम राख्न बैंकले महंगो ब्याजदरमा निक्षेप उठाउँदा हालसम्म यसको असर देखिएको माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् । निक्षेपको ब्याजदर बढेपछि यसको असर बैंकको आधार दरमा पर्ने उनको भनाई छ । निक्षेपको ब्याजदर घटेर औसत साढे ८ प्रतिशत पुगेको बताउँदै उनले माछापुच्छ्रेको आधार दर अझै १० प्रतिशत रहेको उनले सुनाए ।
साउनयता लगानी गर्न पुँजीको अभाव नभएको सीईओहरुको भनाई छ । गत वर्ष बजारमा लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) अभाव भएपछि बैंकहरुले महंगो दरमा निक्षेप उठाउदा लागत दोब्बर बढेको थियो । महंगो दरमा निक्षेप परिचालन गर्दा आधार दर नघटेको सानिमा बैंकका सीईओ भुवनकुमार दाहाल बताउँछन् । साधारण बचतमा अझै ८ प्रतिशत ब्याज दिइरहेको उनको भनाई छ ।