काठमाडौं । यो साताको शुरु देखि नै सेयर बजार निरन्तर ओरालो तिर लागिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ७ दशमलब ०२ अंकले घटेर १५२६ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको देखिन्छ । सो दिन १५९ कम्पनीको १० लाख ३१ हजार कित्ता सेयर ४२ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।
सो दिन उत्पादन मूलक समूह र अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने बाँकी अरु समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समुहको परिसूचक ४९ अंकले ओरालो लागेको छ । आजदेखि नै छुट्टिएका विकास बैंक र लघुवित्त समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन विकास बैंक समूह १३ र लघुवित्त समूह १२ अंकले ओरालो लागेका छन् ।
बजारमा राष्ट्रिय बीमा कम्पनीको ३ करोड १० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । बुधबार उक्त सेयरको मूल्य प्रतिकित्ता १६ हजार ५१० रुपैयाँ रहेको छ ।
बुधबार मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले बढेको छ । भार्गव विकास बैंकका लगानीकर्ताले भने ७ प्रतिशत गुमाएका छन् ।