काठमाडौं । ‘धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको बैंक खातामै नगद लाभांश दिने व्यवस्था मिलाउन भनेको धेरै समय बित्यो तर अझै अधिकांश लगानीकर्ता नगद लाभांश चेक मै माग्दै आउँछन्’, यो भनाई हो एनआइबिएल क्यापिटलका जनरल मेनेजर मेखबहादुर थापाको ।
थापाका अनुसार नियामकको कमजोर निर्देशन र बैंक खातामै नगद दिने व्यवस्था प्रति लगानीकर्तामा विश्वास बढाउन नसक्दा त्यस्तो भएको हो । ‘डिम्याट खाता अनिवार्य गर्न भनियो, लगानी कर्ता पनि ताते, हामीले पनि काम गर्यौ, तर बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक भएन, त्यसैले लगानीकर्ताले पनि खासै चासो देखाएन र हामीले पनि सोचे जस्तो काम गर्न सकेनौं’, एनआइबिएल क्यापिटलका जनरल मेनेजर थापाले विकासन्युजसँग भने ।
एनआइबिएलबाट हालसम्म १५ प्रतिशत जति लगानीकर्ताले नगद लाभांश बैंक खातामै पाईरहेका छन् । बाँकी लगानीकर्ता भने अझै पनि नगद लाभांशका लागि चेक माग्दै आउने गरेको उनले जानकारी दिए । उता, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले पनि बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक नभएको बताए । ‘बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक होइन, पुराना डिम्याट खाताहरु पनि धेरै छन, त्यसैले अभ्यास गर्दै जानुपर्छ भनेर नरम खालको निर्देशन दिएका हौं’, प्रवक्ता गिरीले भने ।
सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले पनि पुराना डिम्याट खातावालहरुले न्युन मात्रामा बैंक खाता अद्यावधिक गरेको बताए । ‘नयाँ डिम्याट खाताका लागि बैंक खाता अनिवार्य गरेका छौं तर पुराना खातावालहरुले बैंक खाता अद्यावधिक गर्न खासै रुचि देखाएका छैनन्’, सिडिएसका सिइओ गुप्ताले भने ।
कसले कहिले के भन्यो बैंक खातामै नगद लाभांश बारे ?
नेपाल धितोपत्र बोर्डले २०७३ साल भदौ ७ गते नै लगानीकर्तालाई नगद लाभांश बैंक खातामै उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको थियो । सिडिएसले २०७३ चैत मसान्त भित्र पुराना डिम्याट खातावालाहरुलाई बैंक खाता उपलब्ध गराउन भनेको थियो ।
२०७३ साल पुस १२ गतेपछि खोलिएको डिम्याट खाताहरुमा बैंक खाता अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७३ मार्फत नगद लाभांश बैंक खातामै उपलब्ध गराउने व्यवस्था गर्न भनेको थियो ।
के गर्नुपर्छ बैंक खातामै नगद लाभांश पाउन ?
लगानीकर्ताले बैंक खातामै नगद लाभांश प्राप्त गर्नका लागि डिम्याट खाता र बैंक खाता अद्यावधिक गर्नुपर्छ । अर्थात २०७३ साल पुस १२ गते अघि नै खोलिएका डिम्याट खाता धनीहरुले बैंक खाता उपलब्ध गराउनु पर्छ । नयाँ डिम्याट खाता भने बैंक अकाउण्ट बिना खोल्नै नपाउने व्यवस्था छ ।
धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको नरम निर्देशन र बैंक खातामै नगद लाभांश पाइने तथ्यमा लगानीकर्ता विश्वस्त नहुदा योजना अपेक्षाकृत रुपले सफल नभएको हो ।