चिनी आयात रोक्न वा भन्सार कर ५०% बनाउन सरकारमाथि दवाब, उपभोक्तालाई मूल्य भार थपिदै

<p>काठमाडौं । विदेशबाट चिनी आयात रोक्न चिनी उद्योगीले दबाव दिएका छन् । आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै आगामी आर्थिक वर्षदेखि चिनीको आयात बन्द गर्न उनीहरुले आपूर्ति मन्त्रालयसँग माग गरेका हुन् । नेपाल चिनी उद्योग संघले आगामी आर्थिक वर्षदेखि चिनीको आयात पूर्णरुपमा बन्देज लगाउन माग गर्दै आपूर्ति मन्त्रालयमा सोमबार निवेदन दिएको छ । संघले आयातित चिनीको [&hellip;]</p>

काठमाडौं । विदेशबाट चिनी आयात रोक्न चिनी उद्योगीले दबाव दिएका छन् । आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै आगामी आर्थिक वर्षदेखि चिनीको आयात बन्द गर्न उनीहरुले आपूर्ति मन्त्रालयसँग माग गरेका हुन् । नेपाल चिनी उद्योग संघले आगामी आर्थिक वर्षदेखि चिनीको आयात पूर्णरुपमा बन्देज लगाउन माग गर्दै आपूर्ति मन्त्रालयमा सोमबार निवेदन दिएको छ ।

संघले आयातित चिनीको भन्सार महसुल पनि ३५ प्रतिशतले बढाउन प्रस्ताव गरेको छ । हाल १५ प्रतिशतसम्म रहेको भन्सार महसुललाई बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्ने उनीहरुले प्रस्ताव गरेका छन् ।

साल्ट ट्रेडिङले आयात गर्ने चिनी सिमावर्ती क्षेत्र अन्तर्गत विरगञ्जमा ७९ रुपैयाँ प्रति किलो छ भने उपत्यकामा ८२.५ रुपैयाँमा बिक्री गरिरहेको छ । नेपालमा चिनीको लागत नै ७४.०२ रुपैयाँ प्रतिकिलो पर्ने र ९० रुपैयाँसम्ममा बिक्री गरिरहेको छ । अन्तराष्ट्रिय बजारमा चिनी तुलनात्मक रुपमा सस्तो भएकाले आयातित चिनीसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने उनीहरुको भनाई छ ।

कालोबजारीका कारण बजारमा चिनीको अभाव भएपछि सरकारले साल्ट ट्रेडिङलाई चिनी आयात गरेर सस्तोमा बेच्न अनुमति दिएको छ । अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ ११० रुपैयाँबाट घटेर १०३ पुगेको र चिनीको मूल्य पनि १८० अमेरिकी डलरले घटेको उद्योगीले जानकारी दिएका छन् ।

गत जेठमा मन्त्रालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग अन्तर्गत मूल्य लागत विश्लेषण समिति गठन गरेको थियो । उक्त समितिले चिनी उद्योगले बजारमा कृत्रिम अभाव गराएर सर्वसाधारणबाट चर्को मूल्य असुल्ने तथ्य सहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो ।

त्यसपछि उद्योगीले आयातित चिनीको आयात महशुल बढाउन लबिङ गरिरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

चिनीको प्रमुख कच्चा पदार्थको रुपमा रहेको उखुँको मूल्य बढाएकोमा उद्योगीले सरकारको आलोचना गरेका छन् । उँखुको भाउ बढ्नाले स्वदेशी उत्पादनको चिनीको भाउ महंगो भएको उनीहरुको दाबी छ । सरकारले प्रति क्विन्टल ४ सय ४८ रुपैयाँ रहेको उँखुको भाउ बढाएर ५ सय ३१ रुपैयाँ कायम गरेको थियो ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा चिनीको उत्पादन १ लाख २९ टन चिनी उत्पादन भएको थियो । यद्दपी देशभरको वार्षिक माग साढे दुई लाख टन रहेको छ । स्वदेशी उत्पादनले मात्रै माग धान्न नसक्ने भन्दै साल्ट ट्रेडिङ कोर्पोरेशनका विभागीय प्रमुख ब्रजेश झाले चिनीको आयात बन्द गर्ने प्रस्तावको विरोध गरेका छन् । उनले भने, ‘सरकारले आयातमा प्रतिबन्ध लगाउनुपर्ने भए उद्योगीले पनि माग धान्न सक्ने आधार देखाउनुपर्छ । अहिलेसम्म त स्वदेशी उत्पादनले धानेको अवस्था छैन ।’

नेपालले भारत लगायत बंगलादेश र पाकिस्तानबाट पनि चिनीको आयात गरिरहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ । उद्योगीले आयातित चिनीलाई छाडेर बरु सरकारसँग अनुदानको माग गर्नु उपयुक्त हुने झाको भनाई छ । व्यवसायीकाे माग अनुसार अायात बन्द भएमा वा भन्सार कर बढाएमा त्यसकाे माग उपभाेक्तामा थपिने निश्चित छ ।

Share News