काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको साझेदारीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाले लगानी जुटाएको छ ।

नविल बैंकको अगुवाईमा नेपाल बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटड र नागरिक लगानी कोषले सहवित्तीयकरण अन्तर्गत ६ अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएका छन् । बैंक र प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटडेबीच ऋण लगानी गर्ने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको प्रवन्ध सञ्चालक मोहन गौतमले बताए । उनले ऋण सम्झौताको तयारी भइरहेको जानकारी दिए ।
दशैअघि नै त्रिशुली र विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । पीपीए भएपछि बैंकले लगानी गर्न सहमत जनाएका हुन् । लगानी जुट्ने भएपछि आयोजना बन्ने निश्चित भएको छ । विस्तृत डिजाइन, निर्माण (इपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । योजनाको निर्माण आगामी पुसबाट सुरु गर्ने लक्ष्य राखिएको गौतमले जानकारी दिए । ‘अहिले आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटको काम गरिरहेका छौं’,उनले भने ‘पुसबाट काम सुरु गरी ३ वर्ष भित्रमा सक्ने लक्ष्य राखेका छौं ।’
विद्युत प्राधिकरणसंग भएको पीपीएअनुसार आयोजनाबाट सुख्खायाममा अर्थात मंसिर १६ देखि जेठ १५सम्म १३ करोड ४८ लाख ८० लाख गिगावाट र वर्षायाममा अर्थात जेष्ठ १६ देखि मंसिर १५ सम्म १५ करोड ७७ लाख १० हजार युनिट बिजुली विद्युत प्राधिकरणले खरिद गर्नेछ । पीपीए दर वर्षायाम र सुख्खायाममा प्रति युनिट क्रमश: ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा रहेको छ ।
आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ । यस्तै सुख्खायाममा पनि ८ करोड २० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजना एक्सिडेन्टल फलो (क्यु) ७० मा डिजाइन गरिएकाले वर्षको ७ महिना आयोजना पुर्ण क्षमतामा सञ्चालन हुनेछ ।
आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तिय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि एको क्यास्केड आयोजना हो ।