काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको कृषि र औद्योगिक उत्पादनमा सुधार भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालु आवको २ महिनाको आर्थिक परिदृष्य सार्वजनिक गर्दे कृषि र औद्योगिक उत्पादनमा भएको सुधारले अर्थतन्त्र विस्तार हुने अवस्थामा रहेको जानकारी दिएको छ ।
गत साउन अन्तिम साता तराइमा आएको बाढी र डुवानबाट कृषि उत्पादनमा क्षति पुगे पनि धानबालीमा भएको यसको असर न्यूनिकरण गर्न सरकारबाट चालिएका कदमका साथै पछिल्लो समयमा मनसुनी वर्षा सामान्य रहेकोले कृषि क्षेत्रको वृद्धि हुनु अनुमान केन्द्रीय बैंकको छ ।
समीक्षा अवधिमा उर्जा आपूर्तिमा सुधार आएको तथा कच्चा पदार्थको आपूर्ति समेत नियमित रहेकोले उद्योगहरुको क्षमता उपयोगमा विस्तार भएको अनुमान गरिएको छ ।
केही जलविद्युत आयोजनाको निर्माण यही आर्थिक वर्षमा सम्पन्न हुने भएकोले राष्ट्रिय प्रसारणलाइनमा थप विद्युत थप हुने र यसबाट औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा थप सुधार आई औद्योगिक क्षेत्रको उत्पादन बढाउने प्रक्षेपण राष्ट्र बैंककको छ ।
यस्तै पर्यटनतर्फ होटल वेड अकुपेन्सी दरमा वृद्धि भएको र होटल वुकिङ्ग एवम् होटल तथा रेष्टुरेण्टको दर्ता उत्साहप्रद रहेकोले पर्यटन क्षेत्रको वृद्धि सन्तोषप्रद देखिएको छ ।
आगामी मंसिर १० र २१ गतेको लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने ठहर राष्ट्र बैंककको छ । निर्वाचनको कारणले उपभोग खर्चमा वृद्धि हुुुने, समग्र आन्तरिक माग बढ्ने र यसबाट उपभोक्ता एवम् लगानीकर्ताको आत्मवलमा सुधार आर्ई आर्थिक वृद्धिलाई गतिशिल गराउने राष्ट्र बैंकले जनाएको छ ।
अन्तर सरकारी वित्त व्यवस्थापन विधेयकका साथै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कर्मचारी समायोजन विधेयक पारित भएकाले यसले स्थानिय तहलाई क्रियाशिल गराई पुँजीगत खर्च वृद्धि हुने अनुमान गरिएको छ । मुलुकको समग्र परिसुचक सकरात्मक भएकाले देशव्यापी रुपमै आर्थिक क्रियाकलापहरुमा विस्तार हुने अपेक्षा राष्ट्र बैंकको छ । चालु आवमा सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।