काठमाडौं । अब हकप्रद सेयरमा पनि आश्वा प्रणालीबाटै आवेदन दिन सकिने भएको छ । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयरका लागि पनि आश्वा प्रणालीबाटै आवेदन दिन पाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेन्ज(नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएस), सम्पूर्ण धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट वैकर तथा आस्वा सदस्यहरुलाई निर्देशन दिएको हो ।
बोर्डले धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन आश्वा प्रणालीबाटै आवेदन दिन सक्ने व्यवस्था लागू गर्न भनेको हो ।
बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिरको प्रमुख सहरहरुबाट आवेदन दिन सकिने छ । बोर्डले उपत्यका बाहिरको प्रमुख केन्द्रहरु कम्तिमा विराटनगर, वीरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीबाट आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।
बोर्डले धितोपत्र बजार, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरहरुको संस्थागत सुशासनलाई अझ प्रभावकारी बनाई नियमपालनाको अवस्थालाई थप सुदृढ बनाउन नेप्से र सिडिएसलाई परिपत्र गरेकाे छ:
१. धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन धितोपत्रको हकप्रद निष्काशनमा आस्वा प्रणालीमार्फत समेत आवेदन गर्न सक्ने व्यवस्था गर्ने ।
२. बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका वाहिरको प्रमुख केन्द्रहरु कम्तिमा विराटनगर, वीरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीवाट आवेदन दिन सक्ने व्यवस्था गर्ने ।
३. नेप्से र सिडिएसले बाेर्डमा पेश गर्नुपर्ने त्रैमासिक प्रतिवेदनमध्ये प्रत्येक दोस्रो तथा चौंथो त्रैमासिक प्रतिवेदनसँग र धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) ले पेश गर्नुपर्ने अर्धवार्षिक प्रतिवेदनसँग लेखापरीक्षकवाट प्रमाणित नियमपालना प्रतिवेदन समेत वोर्डमा पेश गर्ने व्यवस्था गर्ने भनिएकाे छ ।