काठमाडौं । केरुङ-काठमाडौं रेलमार्गको निर्माण सम्बन्धी छलफल गर्न उच्चस्तरिय चिनियाँ टोली नेपाल आउने भएको छ । चीन सरकारले नेपालसँग भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्र्ग निर्माणका लागि छलफल गर्न यसै साता आफ्नो उच्चस्तरिय प्रतिनिधी मण्डल नेपाल पठाउन लागेको हो ।
यो पनि पढौं-अघि बढ्यो केरुङ-काठमाडौं रेल, रसुवागढी यात्रा एक घण्टामै
प्रतिनिधी मण्डलमा चिनियाँले आफु रेल निर्माणबारे छलफल गर्न नोभेम्बर पहिलो साता नेपाल आउने भएकाले आवश्यक सुरक्षा लगायतको प्रबन्ध मिलाउन दुतावास मार्फत पत्र पठाएको हो । ‘दुई सरकारबिच भएको सम्झौता अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणबारे नेपालसँग छलफल गर्न उच्चस्तरिय चिनियाँ प्रतिनिधी मण्डल एक साता भित्रै नेपाल आउने भनेर खबर आएको छ, हामी आवश्यक तयारी गरेर बसेका छौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने ।
गत साउन ३१ गते नेपाल भ्रमणमा आएका चिनियाँ राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको उपस्थितीमा तत्कालिन अर्थसचिव शान्तराज सुवेदी र चीन सरकारका सचिव सु च्यानह्वाले केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी हस्ताक्षर गरेका थिए । २०७२ साल चैत ७ गतेदेखि तत्कालिन प्रधानमन्त्री केपी ओलीले गरेको साताव्यापी चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । उपाध्यायका अनुसार चिनियाँ प्रतिनिधी मण्डलसँग केरुङ–काठमाडौं रेलमार्ग रेलमार्ग निर्माण सम्बन्धी ठोस सम्झौतामा हस्ताक्षर गरेर अध्ययन आरम्भ गर्ने सम्भावना रहेको छ ।
‘चीन सरकारले प्राबिधिक सहितको टोली आउने खबर पाएका छौं, हामी पनि तयारीका साथ प्रस्तुत हुन्छौं, सम्भाव्यता अध्ययन अघि बढाउनका लागि सम्झौता हुन सक्छ’, उपाध्यायले भने ।