ब्याजदर घट्दा पनि बैंकको लागत दोब्बरले वृद्धि, सीईओ भन्छन्-गत वर्षका असर अझै छ

<p>काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) बढेर ब्याज दर घट्न थाले पनि बैंकहरुको पुँजीगत लागत (कस्ट अफ फण्ड) भने उकालो लागेको छ । ३ वटा वाणिज्य बैंकले सार्वजनिक गरको चालु आर्थिक वर्षको अपरिष्कृत त्रैमाशिक वित्तीय विवरणअनुसार लागत दोब्बर बढेर ८ प्रतिशत नाघेको छ । वित्तीय विवरण प्रकाशित गर्ने सानिमा बैंक, सिटिजन्स बैंक र एभरेष्ट बैंकको [&hellip;]</p>

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) बढेर ब्याज दर घट्न थाले पनि बैंकहरुको पुँजीगत लागत (कस्ट अफ फण्ड) भने उकालो लागेको छ ।

३ वटा वाणिज्य बैंकले सार्वजनिक गरको चालु आर्थिक वर्षको अपरिष्कृत त्रैमाशिक वित्तीय विवरणअनुसार लागत दोब्बर बढेर ८ प्रतिशत नाघेको छ । वित्तीय विवरण प्रकाशित गर्ने सानिमा बैंक, सिटिजन्स बैंक र एभरेष्ट बैंकको लागत बढेको हो । वित्तीय विवरण प्रकाशित गर्नेमा सबैभन्दा बढी लागत सिटिजन्सको छ । सिटिजन्सको लागत बढेर ८.०२ प्रतिशत पुगेको छ । गत आवको पहिलो त्रैमाशमा सिटिजन्सको लागत ४.३४ प्रतिशत थियो ।

यस्तै, सानिमाको पनि लागत दोब्बर बढेको छ । चालु आवको पहिलो त्रैमाशमा सानिमाको लागत दोब्बर बढेर ७.४३ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा सानिमाको लागत ३.७७ र गत असारमा ५.३५ प्रतिशत थियो । यस्तै, वित्तीय विवरण सार्वजनिक गर्ने एभरेष्टको लागत सिटिजन्स र सानिमाको भन्दा कम छ । असोजसम्म बैंकको लागत बढेर ४.८५ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा एभरेष्टको लागत २.३२ प्रतिशत थियो । गत असारमा लागत ४.८२ प्रतिशत भएको एभरेष्टले जनाएको छ । बैंकको लागत बढेपछि यसको असर नाफामा पर्छ ।

निक्षेपको ब्याजदर बढेपछि लागत बढेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको भनाई छ । सस्तोमा निक्षेप नपाएसम्म लागत बढ्ने उनीहरुको तर्क छ । हाल बचतको ब्याजदर औसत ८ प्रतिशत रहेको सीईओहरुको भनाई छ ।

गतवर्ष कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम राख्न बैंकले महंगो ब्याजदरमा निक्षेप उठाउँदा हालसम्म यसको असर देखिएको माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् । निक्षेपको ब्याजदर बढेपछि यसको असर बैंकको लागतमा पर्ने उनको भनाई छ ।
गत वर्षको असर अहिलेसम्म देखिएको बताउँदै उनले भने “निक्षेपको ब्याज दर पनि कम हुँदै गएकाले घट्ने संभावना पनि त्यत्तिकै छ ।”

उनले माछापुच्छे्रको लागत पनि ७.३ प्रतिशतको हारहारीमा रहेको जानकारी दिए । निक्षेपको ब्याजदर घटेर औसत साढे ८ प्रतिशत पुगेको बताउँदै उनले माछापुच्छ्रेको आधार दर अझै १० प्रतिशत रहेको उनले सुनाए । हाल बैंकिङ प्रणालीमा ६३ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ । लगानी गर्न पुँजीको अभाव नभएको सीईओहरुको भनाई छ ।

गत वर्ष बजारमा लगानीयोग्य पुँजी (क्रेडिट क्रन्च) अभाव भएपछि बैंकहरुले महंगो दरमा निक्षेप उठाउदा लागत दोब्बर बढेको थियो । महंगो दरमा निक्षेप परिचालन गर्दा लागत बढेको सानिमाको सीईओ भुवनकुमार दाहाल बताउँछन् । निक्षेप नबढेसम्म ब्याज दर नघटे्ने र बैंकको लागत बढ्ने उनको तर्क छ । साधारण बचतमा अझै ८ प्रतिशत ब्याज दिइरहेको उनको भनाई छ । बैंकको नाफा बढेपनि वृद्धि दरमा पनि कमी आएको उनी बताउँछन् ।

 

Share News